गण्डकी

गण्डकीमा दिनभरः मत जुटाउन हिँडेका सांसदको 'हात लाग्‍यो शून्‍य'

अनिष भट्टराई |
बैशाख २८, २०७८ मंगलबार १७:५३ बजे

फाइल तस्‍बिर

पोखरा : गण्डकीमा नयाँ सरकार गठन गर्न निर्णायक मानिएको राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले कांग्रेसलाई साथ दिन अस्वीकार गरेका छन् । थापा आफ्नै अडानमा बुधबार अपराह्नसम्म रहे भने एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिने देखिन्छ ।

गुरुङले २६ गते मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको सरकार गठन प्रयोजनार्थ दाबीपत्र प्रस्तुत गर्न आह्वान गरेकी थिइन् । सोहीअनुसार मंगलबार राष्ट्रिय जनमोर्चाकागरी ३१ अर्थात बहुमत सांसदको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुखकहाँ जाने कांग्रेस, माओवादी केन्द्र र जसपाको योजना थियो । 


जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस नेतृत्वमा सरकार बनाउन आफ्ना सांसदलाई निर्देशन गरिसकेका छन् । जनमोर्चा केन्द्रीय कमिटीकै निर्णयमा विश्वस्त यहाँका विपक्षी दलका नेताहरु मंगलबारनै बहुमत दाबी गरेर नयाँ सरकार बन्छ भन्नेमा ढुक्क थिए । 

‘म ढुक्क छु, आज बहुमतको सरकार बन्छ, जनमोर्चाका साथीहरूले केन्द्रको निर्णय नै मानेर हामीलाई साथ दिनुहुन्छ,’ माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मंगलबार बिहान भनेका थिए । चुमानमात्रै होइन कांग्रेसका सांसद कुमार खड्का पनि मंगलबार जनमोर्चाले हस्ताक्षर गर्नेमा ढुक्क थिए । ‘पार्टीले पठाएर हामी सांसद भएका हौं, उहाँहरू पनि त्यही हो, केन्द्रकै निर्णय मानेर यता आउनुहुन्छ, आउनुभएन भने फेरि पृथ्वीसुब्बा नै बन्ने पनि सम्भावना छ,’ उनले भनेका थिए । 

तर विपक्षी नेताहरूलाई जिल्याउँदै जनमोर्चा संसदीय दल नेता कृष्ण थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । बागलुङमा जनमोर्चाले चुनावमा एमालेसँग तालमेल गर्दै आएको र त्यहाँका कार्यकर्ता कांग्रेससँग मिल्न नहुने पक्षमा रहेकाले उनले हस्ताक्षर गर्न अस्वीकार गरेको जनमोर्चाका कार्यकर्ताहरू बताउँछन् । बागलुङमा कांग्रेस र जनमोर्चाको दुश्मनी सम्बन्ध छ । 

जनमोर्चाका अरु २ सांसद– पियारी थापा र खिमविक्रम शाहीले भने हस्ताक्षर गरिसकेका छन् । सोमबार जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले ह्विप लगाएकी थिइन् । संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाहीको नामै किटेर उनले ह्विप जारी गरे पनि कृष्ण थापा हस्ताक्षर गर्न मानेनन्् । सचेतक थापाले लगाएको ह्विप पनि राजनीतिक दलसम्बन्धी ऐनको विपरीत छ । संसदीय दलको नेताको निर्देशनमा सचेतकले ह्विप जारी गर्ने व्यवस्था भए पनि सचेतक थापाले नेताको निर्देशनविनै ह्विप जारी गरेकी थिइन् । 

कृष्ण थापाले हस्ताक्षर नगर्दा विपक्षी मोर्चामा बहुमतका लागि आवश्यक सांसद संख्या (३१) पुग्दैन । २ वा २ भन्दा बढी दलको सरकार बन्न नसके प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । त्यो भनेको फेरि संसद्को ठूलो दलका नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने हो । सदनमा एमालेका २८ सांसद छन् भने कांग्रेसका १५, माओवादीका १२ (सभामुख सहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् । 

तर ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै चयन भए पनि उनको सरकार धेरै टिक्ने देखिँदैन । उनले मुख्यमन्त्री नियुक्त भएको १ महिनामा विश्वासको मत लिनुपर्नेछ । 

आशावादी सांसद, निराश भएर फर्के
कांग्रेस, माओवादी, जनता समाजवादीका सांसदहरू मंगलबार बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालयमा भेला भए । जनमोर्चाले हस्ताक्षर गर्ने र सबै सांसद प्रदेश प्रमुख कहाँ जाने योजनाका साथ उनीहरू भेट भएका थिए । मंगलबार अपराह्नसम्म गण्डकीमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका सांसद नयाँ सरकार बन्नेमा विश्वस्त देखिन्थे । 

दलका नेताहरूको हाउभाउ पनि उस्तै थियो । साढे ११ बजे जुटेका सांसदहरू सवा १२ मा कांग्रेस संसदीय दलको कार्यालयबाट निस्के । कांग्रेस सांसद कुमार खड्का र माओवादी सांसद रामजी बराल सदनबाट बाहिरिए । ‘हाम्रो आज बैठक होइन, कुराइ हो, कुरिरहेका छौं,’ कुमार खड्काले प्रतिक्रिया दिएर निस्के । 

माओवादी संसदीय दलको कार्यालयमा नेताहरू हरिबहादुर चुमान, आशा कोइराला, गायत्री गुरुङ, मधुमाया अधिकारी लगायत थिए । उनीहरू पनि मंगलबार हस्ताक्षर जुट्नेमा आशावादी देखिन्थे । ‘आज हस्ताक्षर आउँछ, बहुमत पुर्या‍एर नयाँ सरकार गठन हुने समाचार ब्रेकिङ गर्नुहोस्,’ ठट्यौली पारामा माओवादी सांसदले सञ्चारकर्मीलाई भने । कांग्रेस संसदीय दलको कार्यालयको दृश्य पनि उस्तै थियो । सांसदहरू एकआपसमा गफिँदै थिए, हस्ताक्षर कति बेला आउँछ भन्दै कुरिरहेका थिए । दलका नेता, सचेतकको भने ओहोरदोहोर बाक्लो थियो । दिउँसो २ बजेर ४० मिनेटमा माओवादी सांसद र कांग्रेस सांसदहरू फेरि कांग्रेस संसदीय दलको कार्यालयमा पसे । माओवादी सांसदले ‘आयो भनेर बोलाउनु भएको छ,’ भनेर कार्यालय पसिन् ।

बैठक १५ मिनेट बस्यो । आफ्ना सांसद कृष्ण थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको जानकारी सांसदहरूलाई जनमोर्चा गण्डकी अध्यक्ष शंकर बरालले बैठकमा फोनमार्फत गराए । मंगलबार हस्ताक्षर संकलन गरेर बहुमतको सरकार दाबी गर्ने विपक्षी दलहरूको योजना एक दिन पछाडिका लागि धकेलियो । माओवादी सांसद आशा कोइराला अझै एक दिन आफूहरूसँग समय रहेको र मंगलबार कृष्ण थापाले हस्ताक्षर गर्न नमानेको इकागजलाई बताइन् । ‘आज हस्ताक्षर गर्न मान्नु भएन, भोलिसम्मको दिन छ, भोलिसम्म केही आउला,’ उनले भनिन् । 

माओवादीका अर्का सांसद दीपक कोइराला राजनीतिमा यस्ता घटना सामान्य भएको बताए । ‘राजनीतिमा यस्ता खेल भइरहन्छन्, राजनीति नै सकिएको त हैन,’ उनले भने । जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले आफ्नो आशा मरेको बताइन् । ‘बिहान आउँदासम्म त १० पर्सेन्ट आशावादी थिएँ, अब १ प्रतिशतमा झर्‍यो,’ उनले भनिन् । 

संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकार दाबी गर्न प्रदेश प्रमुखले दिएको समय अझै १ दिन बाँकी छ । बुधबार बेलुका ४ बजेसम्म कृष्ण थापालाई सहमत गराउन सकेमात्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x