गण्डकी

संसदीय दलको नेताबाट हटाइएका थापा भन्छन्- ‘स्पष्टीकरण नै सोधेनन्’

इकागज |
बैशाख २९, २०७८ बुधबार १५:३१ बजे

पोखरा : राष्ट्रिय जनमोर्चा पार्टीले कृष्ण थापालाई गण्डकी संसदीय दलको नेताबाट हटाएको छ । कांग्रेसको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्न नमानेपछि उनलाई संसदीय दलको नेताबाट हटाइएको अर्की सांसद पियारी थापाले जानकारी दिइन् । 

‘पार्टीले उहाँलाई आज दलको नेताबाट हटाएको छ, बिहानको निर्णय हो,’ उनले भनिन् । प्रदेश सभा सचिवालयमा पार्टीको पत्र दर्ता पनि भइसकेको छ । यस्तै पार्टी महासचिव मनोज भट्टले स्वयं गएर सभामुख नेत्रनाथ अधिकारीलाई यसबारे जानकारी गराएका थिए । दिउँसो २ बजे प्रदेश सभा सचिवालयमा पुगेका भट्ट साढे २ बजे सभामुखकहाँबाट पत्रमा तोक लगाएर फर्केका थिए । 


तर, संसदीय दलका नेताबाट हटाइएका कृष्ण थापा भने अहिले आफ्नो घर बागलुङ जैमिनी पुगिसकेका छन् । आफूलाई कारबाही गर्ने बारे स्पष्टिकरण कसैले पनि नसोधेको उनले बताए । ‘खै मलाई स्पष्टिकरणको बारेमा कसैले सोधेन, कारबाही गर्ने भन्ने त सुनेथेँ मिडियामा,’ उनले भने । 

थापा एकाबिहानै बागलङ हानिएका थिए । उनी हस्ताक्षर गर्न दबाब धेरै आएपछि बागलुङ गएको बताउँछन् । ‘पोखरामा धेरै दबाब दिए, बागलुङको अवस्था बुझ्नु पर्‍यो नि, म त बिहानै घर आएँ,’ उनले भने । आफूले मंगलबार पार्टी महासचिव मनोज भट्टसँग भेट्दा धेरै दबाब आफूलाई दिइएको बताए ।


Author

थप समाचार
x