गण्डकी

कारबाहीलाई वैधता नदिन प्रदेश प्रमुखलाई सांसद थापाको पत्र

इकागज |
बैशाख २९, २०७८ बुधबार १६:९ बजे

इकागज : जनमोर्चाका सांसद कृष्ण थापाले आफूलाई संसदीय दलको नेताबाट हटाइनु गैरकानुनी रुपमा हटाइएको बताएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र लेख्दै उनले कारबाहीलाई बैधता नदिन आग्रह गरेका छन् ।

‘म पार्टीकामले बागलुङमा हुँदा किर्ते, जालसाजी गरेर हटाउन खोजियो, कारबाहीलाई वैधता नदिन आग्रह गर्छू,’ उनले लेखेका छन् । उनले कुनै गठबन्धनमा नलागेको पनि बताएका छन् । ‘म हालको सरकार निर्माणको कुनै गठबन्धनमा नलागि तटस्थ बसेको व्यहोरा जानकारी गराउँछु’ थापाले भने ।


संसदीय दलका नेताबाट हटाइएका थापा भने अहिले आफ्नो घर बागलुङ जैमिनी पुगिसकेका छन् । आफूलाई कारबाही गर्ने बारे स्पष्टिकरण कसैले पनि नसोधेको उनले बताए । ‘खै मलाई स्पष्टिकरणको बारेमा कसैले सोधेन, कारबाही गर्ने भन्ने त सुनेथें मिडियामा,’ उनले भने ।

थापा एकाबिहानै बागलङ हानिएका थिए । उनी हस्ताक्षर गर्न दबाब धेरै आएपछि बागलुङ गएको बताउँछन् । ‘पोखरामा धेरै दबाब दिए, बागलुङको अवस्था बुझ्नु पर्‍यो नि, म त बिहानै घर आएँ,’ उनले भने । आफूले मंगलबार पार्टी महासचिव मनोज भट्टसँग भेट्दा धेरै दबाब आफूलाई दिइएको बताए । राष्ट्रिय जनमोर्चा पार्टीले कृष्ण थापालाई गण्डकी संसदीय दलको नेताबाट हटाएको थियो । कांग्रेसको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्न नमानेपछि उनलाई संसदीय दलको नेताबाट हटाइएको अर्की सांसद पियारी थापाले जानकारी दिइन् ।


Author

थप समाचार
x