गण्डकी

पाेखरामा म्याद गुज्रिएको बियर गरियाे नष्ट

इकागज |
बैशाख २७, २०८० बुधबार १८:३८ बजे

पोखरा । पोखरामा म्याद गुज्रेको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नष्ट गरेको छ ।

मंगलबार लाभाजु इन्टरप्राइजेजको स्टोरबाट नियन्त्रण गरिएको म्याद गुज्रेको बियर बुधबार नष्ट गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । करिब १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँको बियर पोखरा महानगरपालिका १७ मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । 


ढकालका अनुसार म्याद गुज्रेका बियर बिक्री गर्ने लाभाजु इन्टरप्राइजेजलाई ३ दिनभित्र बिलबिजकसहित प्रशासनमा उपस्थित हुन सूचना पठाइएको जानकारी दिए । लाभाजुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिने उनले बताए । 

प्रशासनले ६ सय ५० एमएलको ३ सय १३ कार्टुन, ११ बोतल र ३ सय ३० एमएलको ६ कार्टुन, ११ वटा बोतल बियर नियन्त्रणमा लिएको थियो ।  

म्याद गुज्रेको मादक पदार्थ सेवन गर्नु विषसरह रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवजी बरालले बताए । मानव स्वास्थ्यमा ठूलो हानि पुर्‍याउने यस्तो खालको खाद्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई उपभोक्ता संरक्षण ऐन २०७५ मा नगद जरिवाना तोकिएको उनले बताए । मूल्यसूची, बोर्ड, एक्सपाइर जोन छ/छैन सबै हेरेर ५ हजारदेखि १ लाखसम्म जरिवाना हुने उनले जानकारी दिए ।


Author

थप समाचार
x