गण्डकी

गण्डकी याेजना आयोग उपाध्यक्षले लिए शपथ

इकागज |
बैशाख २७, २०८० बुधबार २०:४६ बजे

पाेखरा। गण्डकी प्रदेश योजना आयोग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डा. देवकोटालाई शपथ गराएका हुन् ।

वैशाख २४ गते आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले गोरखाका ४० वर्षे देवकोटालाई उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो । नवनियुक्त उपाध्यक्ष डा. देवकाेटाले संविधानले प्रदेशलाई दिएको अधिकारको सीमाभित्र रहेर प्रदेशका प्राथमिकता निर्धारण गरी नागरिकसँग जोडिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।


उनले भने, ‘कृषि, पर्यटन, पूर्वाधार, गुणस्तरी शिक्षा, स्वास्थ्य लगायत विषयलाई प्राथमिकतामा राखेर मैले काम गर्नेछु ।’ प्रदेश सरकार र मन्त्रालयहरुको समन्वयमा प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन आफूले सक्दो मेहनत गर्ने उनले बताए । दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा पिएचडी गरेका देवकोटा हाल ग्लोबल इन्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज (जिआइइएस) मा रिसर्च फेलो हुन् ।

उनी गोरखाको पालुङटार नगरपालिका ३ निवासी हुन् । विकास योजना, विपद् व्यवस्थापनका साथै विपद मैत्री विकासका ज्ञाता डा. देवकोटा कम उमेरमा पिएचडी गर्नेमा पर्छन् । उनले २९ वर्षको उमेरमा पिएचडी गरेका हुन् । केही समय कोरिया सरकारकै मातहतमा रहेका काम गरेका उनी स्विस कम्पनीमा विपद व्यवस्थापन विज्ञका रुपमा आबद्ध थिए ।


Author

थप समाचार
x