शिक्षामा व्यवहारिकता खोज्दै फेदीखोला गाउँपालिका
पोखरा । स्याङ्जा फेदीखोलास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा सोमबार र मंगलबार शैक्षिक प्रदर्शनी चल्यो । प्रदर्शनीमा उपस्थित विद्यार्थीहरु निकै चाख मानेर अवलोकन गर्दै थिए । प्रदर्शनीमा देउराली आधारभूत विद्यालयको स्टलमा सिद्धार्थ माबिमा रजिना र शिलशिला मिजारले शिक्षकसँग भलाकुसारी गरिरहका थिए । त्यहाँ दुई साथी हलोजुवामा लेखेर टाँसिएको अक्षर पढ्दै थिए । त्यहाँ लेखिएको थियो, हरिस, अनौ, ठेडी, सोइला, जोतारो, नारा । हलो, जुवा भनेर मात्र देखेका उनीहरु त्यसमा प्रयोग सामानको नाम पढेर उत्सुक थिए ।
घरमा देखिरहेको हलोजुवामा प्रयोग हुने सामानको नाम प्रदर्शनीमार्फत जान्न पाउँदा रजिना र शिलशिला मिजार निकै खुसी थिए । ‘हलो, जुवा, लिड्को भनेर मात्र सुनेको हो यस्तो हुन्छ भनेर थाहा थिएन,’ शिलशिलाले भनिन्, ‘अहिले सरहरुसँग सोधेर जानियो । अब भोलिबाट भुल्ने होला नि ।’ उनीहरुको भनाइको तात्पर्य शैक्षिक मेला समय समयमा होस् भन्ने हो । ‘यस्तै काम अरु स्कुलमा भयो भने धेरैले जानकारी पाउन सक्छन् । हामीले धेरै कुरा थाहा पायौं,’ रजिनाले भनिन्, ‘धेरै स्कुलका साथीहरु पनि जम्मा हुँदा रमाइलो पनि हुन्छ नि ।’
देउराली आधारभूत विद्यालयका शिक्षक धनबहादुर केसीले गाउँपालिकाको स्थानीय पाठ्यक्रम अनुसार हलो, जुवा, डोको जस्ता पुराना सामान प्रदर्शनमा राखेको बताए । शैक्षिक प्रदर्शनीले विद्यार्थीमा सिकाइ उपलब्धी हुने उनको विश्वास छ । ‘कतिपय विद्यालयमा बिनाशैक्षिक सामग्री पठनपाठन हुँदा सिकाइ उपलब्धि पूरा हुँदैन,’ उनले भने, ‘यसरी प्रत्यक्ष शैक्षिक सामग्री देख्न, छुन पाएपछि शिक्षण सिकाइ प्रक्रियामा मद्दत दिन्छ ।’
देउराली आधारभूत विद्यालयले जस्तै अरु १६ विद्यालयले पनि सो प्रदर्शनीमा स्टल राखेका थिए । फेदीखोला गाउँपालिकाको आयोजनामा भएको सप्ताहव्यापी शैक्षिक गतिविधिअन्तर्गत सोमबार र मंगलबार शैक्षिक सामग्री प्रदर्शनी भएको हो । गाउँपालिकाले पालिकाभित्रका १७ विद्यालय समेटेर सप्ताहव्यापी कार्यक्रम भइरहेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
शैक्षिक प्रदर्शनीमा विद्यालयहरुले फरक–फरक सामग्री प्रदर्शनमा राखेका थिए । शिक्षण सिकाइ प्रक्रियामा आवश्यक डोको, नाम्लो, हलो, जुवा, विज्ञानका सामग्री, गणितका सामग्री राखिएको थियो । प्रदर्शनीमा सबै विद्यालयका ३ हजार विद्यार्थी सहभागी भएको गाउँपालिका अध्यक्ष सुवेदीले बताए । गाउँपालिकाको २० वर्षे रणनीतिक योजनाअन्तर्गत नै कार्यक्रम गरिएको उनले सुनाए । ‘गाउँपालिकाले रणनीतिक योजना बनाएको छ । त्यसमा पालिकाको शिक्षाको अवस्था के हुने भनेर शिक्षासँग सम्बन्धित सबैको सुझावअनुसार भएको हो,’ उनले भने, ‘यसअन्तर्गत विभिन्न कामहरु अघि बढ्दै छन् ।’
सप्ताहव्यापी शैक्षिक कार्यक्रमअन्तर्गत ३ दिन खेलकुद गतिविधि, २ दिन शैक्षिक प्रदर्शनीसँगै विषयकेन्द्रित छलफल, अनुभव आदानप्रदान कार्यक्रम गरिएको अध्यक्ष सुवेदीले बताए । कार्यक्रममा उठान भएका विषयले आगामी वर्षको बजेट निर्माणमा पनि सहयोग पुग्ने उनको भनाइ छ । उनले भने, ‘गाउँपालिकाको झण्डै ४० प्रतिशत बजेट प्रत्येक वर्षजस्तो बजेट छुट्याइरहेका छौं। यसबाट आउने आउटपुट राम्रो होस् भनेर यो समापनसँगै कार्यक्रमबाट निस्किएका निचोडलाई घोषणापत्ररुपमा जारी गर्नेछौं ।’
गाउँपालिकाले विद्यार्थीलाई उद्यमशील बनाएर कृषिमा जोड्न जग्गा दिनेसम्मको योजना तयार गरेको उनले जानकारी दिए । ‘फेदीखोलामा शिक्षाबाट रुपान्तरणको लक्ष्य प्राप्ति गर्ने गरी कार्यक्रम अघि बढिरहेको छ,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया