गण्डकी

पोखरामा गण्डकी युनिभर्सिटी ईन्टरनेसनल कन्फरेन्स, कोरियासहित नेपालका तीन सय विद्यार्थी भेला

इकागज |
जेठ ३०, २०८० मंगलबार २१:२० बजे

पोखरा- अनुसन्धान र आविष्कारमा अध्ययनरत करिब ३ सय विद्यार्थी पोखरामा भेला भएका छन् । यहाँ कोरियाको न्योनपुक नेशनल युनिभर्सिटीबाट पनि विद्यार्थी आएका छन् । नेपालकै पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजलगायत क्याम्पसबाट विद्यार्थीहरू भेला भएका छन् । 

उनीहरू गण्डकी विश्वविद्यालयको आयोजनामा मंगलबारदेखि सुरु हुने गण्डकी युनिभर्सिटी ईन्टरनेसनल कन्फरेन्समा भाग लिन पोखरा आएका हुन् । ‘प्राज्ञिक मूलधारमा आविष्कार र अनुसन्धान’ विषयक सम्मेलन बिहीबारसम्म चल्नेछ । उक्त सम्मेलनमा विद्यार्थीहरूले आविष्कार र अनुसन्धानका बारेमा छलफल गर्नेछन् । 
सम्मेलनमा नेपालसहित ७ देशका अनुसन्धानकर्ता, आविष्कारक प्राध्यापकले प्रस्तुतीकरण राख्नेछन् । जहाँ २० वटा सेसनमा ९१ वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलन आयोजक समितिका संयोजक डा.राजकुमार थापाले जानकारी दिए ।


उनका अनुसार डा.भगवान कोईरालाले स्वास्थ्य सम्बन्धी, युनिभर्सिटी अफ अक्सफोर्ड युकेका सौमित्र दत्तले व्यापार व्यवस्थापन सम्बन्धी, थाईल्याण्डका योथिन सवाङ्गीले स्वास्थ्य र वातावरण सम्बन्धी, जापानका योसी ओवायासीले दीगो स्वास्थ्य सम्बन्धी, नेपाल हेल्थ प्रोफेसनल काउन्सिका अध्यक्ष मोहनकृष्ण श्रेष्ठले स्वास्थ्यमा व्यवसायीकतामा नियमन सम्बन्धी, नर्वेका मार्टिन काईचले दीगो विकास सम्बन्धी, काठमाडौं विश्वविद्यालयका प्रा.डा.भुपेन्द्र विमल क्षेत्रीले इञ्जिनियरिङ रिसर्च टेक्नोलोजी सम्बन्धी, डेनमार्कका एन्स एण्डर्सनले स्पोर्टस सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । 

विश्वविद्यालयको अध्ययन अध्यापनलाई गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफलसहित विद्यार्थीलाई एक्सपोजर दिनु सम्मेलनको उद्देश्य रहेको आयोजकले जनाएको छ । सम्मेलनको मंगलबार गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरे ।

प्रदेश प्रमुख गुरुङले नेपालको शिक्षामा प्रविधिको प्रयोग र विकास हुन नसक्दा पछि परेको बताए । सम्मेलनले यस्तो खालको समस्या हल गर्न सघाउने उनको विश्वास थियो । नेपालका विश्वविद्यालयमा विकृति र विसंगति छाउँदा विद्यार्थी शिक्षाका लागि विदेशिने गरेको उनले बताए । ‘यहाँका विश्वविद्यालयमा समयमा भर्ना आह्वान हुँदैन, अध्ययन अध्यापन हुँदैन, परीक्षापनि समयमा हुँदैन अनि रिजल्ट पनि समयमा हुँदैन,’ उनले भने, ‘जहाँ ज्ञान, सीप दिने हो त्यही यस्तो विकृति विसंगति भएपछि त्यस्ता विश्वविद्यालयले कस्तो विद्यार्थी उत्पादन गर्ने हो ?’ विद्यार्थी संगठन राजनीतिक दलको स्वार्थपूर्ति गर्ने हतियारका रुपमा मात्र प्रयोग हुन नहुने उनको तर्क थियो । विद्यार्थी संगठनले पनि बन्द, हड्ताल र तालाबन्दी गरेर अध्ययन अध्यापनमा बाधा नपुर्याउन उनको आग्रह थियो ।

गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले विज्ञान र प्रविधिमा आधारित सीपमूलक शिक्षा अहिलेको आवश्यकता भएकाले त्यसतर्फ जोड दिन विश्वविद्यालयहरूलाई आग्रह गरिन् । शिक्षामा निजीकरण र व्यापारीकरण हुँदा समान शिक्षा लागु हुन नसकेको उनको भनाई थियो ।

आविष्कार केन्द्रका संस्थापक महाविर पुनले पोखरालाई १५ वर्ष भित्रमा सिलिकन भ्याली बनाई छाड्ने घोषणा गरे । पोखरालाई हैदराबाद, बैंग्लोर जत्तिकै अवस्थामा नपुर्याए पनि सोही लेबलको सिलिकन भ्याली बनाउन आफूहरू लागेको उनको भनाइ थियो । 

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, बोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष कैलाशनाथ प्याकुरेललगायतले विश्वविद्यालयले गुणस्तरीय शिक्षाका शैक्षिक सम्मेलन आवश्यक रहेको बताएका थिए । 


Author

थप समाचार
x