गण्डकी

घरभाडाको मारमा पोखराका व्यवसायी

इकागज |
जेठ ३०, २०८० मंगलबार २१:३२ बजे

पोखरा- नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिसँग घरभाडाका कारण पोखरामा यती नै व्यवसायी पलायन भए भन्ने एकिन तथ्यांक छैन । तर, समितिले सोधपुछ र भनसुनका आधारमा १५ देखि २० प्रतिशत व्यवसायीले व्यवसाय छोडेर गएको भन्न सक्छ । कोरोनाका पछिको आर्थिक मन्दीका कारण चटक्कै व्यवसाय छाडेर जाने त्यतिको संख्यामा भए पनि मारमा धेरै व्यवसायी रहेको समितिका अध्यक्ष कमलप्रसाद न्यौपाने बताउँछन् ।

घरभाडा नघटे पलायन हुनेको प्रतिशत बढेर ५० प्रतिशत पुग्नसक्ने समितिका अध्यक्ष न्यौपानेको आंकलन छ । घरभाडाकै कारण व्यवसाय र व्यवसायी धरापमा नपरोस् भनी समितिले मंगलबार पत्रकार सम्मेलन गरेर केही बुँदाको माग गरेको छ । घरभाडा दिने र लिने अर्थात् घरधनी र घर बहालमा बस्ने दुवैको साझा संस्थाका रूपमा रहेको समितिको पत्रकार सम्मेलन गरी घरधनीहरूलाई घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको छ ।


समितिले विज्ञप्ति मार्फत आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण अर्थतन्त्र चलायमान नहुँदा व्यापार, व्यवसायमा धरापमा परेको उल्लेख गरेको छ । जसका कारण आर्थिक कारोबार घटेकाले अहिलेको घरभाडा तिर्न सक्ने स्थिति नरहेको समितिको भनाइ छ । विज्ञप्तिमाथि भनिएको छ, ‘यही कारण व्यवसायी व्यवसाय छाडेर पलायनसमेत भएका छन् । कतिपय व्यापारीले त आत्मदाहसम्म गरेका छन् ।’ त्यसैले घरभाडा घटाउनुपर्ने समितिको तर्क छ । समितिले पोखरामा हाल २५ देखि ३० प्रतिशत व्यवसायी पलायन भइसकेका छन् । 

समितिले यस्तो भयावह स्थितिमा पनि केही घरधनीले घरभाडा वृद्धि गरेको भन्दै सो निर्णय फिर्ता लिन अपिल गरेको छ । समितिले घरभाडा नघटाए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ । व्यवसाय नचलेका कारण घरभाडा तिर्न नसकिरहेको अवस्थामा घरभाडा नघटाउने हो भने व्यवसायी पलायन हुने र सोही कारण सहरका धेरै सटरहरू खाली हुने स्थिति आउने समितिको ठहर छ । 

समितिका अध्यक्ष न्यौपानेले संकटबाट निस्कन घरधनी र घर बहालमा बस्ने सबै एकजुट हुनुपर्ने बताए । घरभाडा समयमै नतिरेको भए पनि अहिलेको परिस्थितिलाई बुझेर व्यवसायीलाई घर खाली गर्नका लागि बाध्य नपार्न घरधनीलाई अध्यक्ष न्यौपानेले आग्रह गरे । 

समितिले ५० प्रतिशतसम्म छुटसहित ५ वटा बुँदा राखेर आह्वान गरेको छ । समितिले सम्झौता अनुरूप भाडा बढ्ने बेला भए पनि अहिल्यै नबढाउन समितिको आश्वासन छ । घर बहाल कर घरधनी आफैले तिर्न, समयमा घरभाडा नतिरे खाली गर्न बाध्य नपार्ने र परिस्थिति सहज नभएसम्म बाचौं र बचाऔं भन्ने मुलमन्त्रलाई आत्मसात गरेर अघि बढ्न समितिले आह्वान गरेको छ । 

समितिका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय घरभाडा सरोकार समितिका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले घरभाडा तिर्न नसकेर व्यवसायी विस्थापित हुने अवस्था आउन नहुने बताए । घरधनी र बहालमा बस्नेबीच सुमधुर सम्बन्ध हुनुपर्ने र समस्यामा पर्दा आपसमा मिलेर संकट टार्नुपर्नेमा उनको जोड थियो । 


Author

थप समाचार
x