गण्डकी

बजेटमा खेलकुद प्राथमिकतामा परेन : मन्त्री लिम्बु

इकागज |
असार ३, २०८० आइतबार १५:४६ बजे

पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले आगामी वर्षको बजेटमा खेलकुद प्राथमिकतामा नपरेको बताएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लिम्बुले संसदमा प्रस्तुत भएको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका हुन् । आफूले मन्त्रालय सम्हालेपछि केही योजना थप्नको लागि आग्रह गरेको भए पनि त्यसलाई सम्बोधन नगरिएको उनले खुलाए ।चालु वर्षमा पौने ४ अर्बको बजेट छुट्याइएको भए पनि अहिले घटाएर १ अर्ब ८८ करोडको सिलिङ बनाएको उनको भनाई थियो । 


मन्त्री लिम्बुले खेलसंघमा विवाद हुँदा खेल क्षेत्रमा समस्या हुने भएकोले संघहरुलाई इमान्दार बन्न जोड दिए । राजनीतिक स्वार्थको लागि मात्र संघमा नलाग्न उनको आग्रह छ । ‘संघहरुमा विवाद देखियो । यो विवाद अन्त्य हुनुपर्‍यो,’ उनले भने, ‘यहाँ एउटै खेलको थुप्रै संघ भएपछि विवाद हुने भयो । त्यसकारण संघमा रहेका साथीहरुले पनि खेलको वृहत्तर विकास र प्रवद्र्धनको लागि काम गर्नुहोस् ।’ 

खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको साझेदारी आवश्यक रहेको उनको भनाई थियो । ‘सरकारले मात्र सबैथोक गर्न सक्दैन, निजी क्षेत्रलाई पनि खेलकुद क्षेत्रसँग जोड्न आवश्यक छ, नभए हामी मात्र अगाडि बढ्न सक्दैनौं’, उनले भने, ‘यो क्षेत्रमा खेलकुद र खेलाडीलाई सहयोग गर्ने थुुप्रै सहयोगी मनहरु छन् सबैलाई मिलाएर अगाडि बढ्न सके खेलकुुदमा चाँडै फड्को मार्न सकिन्छ ।’
 


Author

थप समाचार
x