गण्डकी

हामीलाई भाञ्जाभाञ्जी आए जस्तो लाग्छ, तपाईहरुलाई मामाघर आए जस्तो लाग्दैन ?

इकागज |
असार ६, २०८० बुधबार २०:११ बजे

पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार चिनबाट सिचुवान एअरलाइन्सको जहाज आयो । यसले पोखरेलीको लामो समयदेखिको सपना साकार भयो । अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण उद्घाटन गरिएको विमास्थलमा विदेशबाट जहाज नआउँदा पोखरेली निराश थिए । तर, बुधबार चीनबाट सिंधै जहाज आउँदा पोखरेली फुरुंग थिए । 

चीनको सिचुआन एयरलाइन्सको आर्टर्ड उडान पोखरा अवतरण गरेको हो । जहाँ राष्ट्रियसभाका अध्यक्ष चीनको छेन्दुबाट ८४ जना यात्रु बोकेर आएको सिचुआन एयरलाइन्स बिहान ९ः०२ बजे अवतरण हुँदा ‘वाटर क्यानन सल्युट’ ले स्वागत गरिएको थियो । पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा १३१ सिट क्षमताको चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरु बाजागाजासहित विमानस्थलमा पुगेका थिए । विमानका यात्रुहरुलाई पर्यटन व्यवसायीले माला, खादा र नेपाली ढाका टोपीले स्वागत गरेका थिए । 


चीनबाट विमानस्थलमा विमानस्थलको प्रवेशद्वार नजिकै स्टेज बनाएर नेपालको तर्फबाट औपचारिक कार्यक्रम गरी स्वागत गरिएको थियो । जहाँ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पोखरा महानगरपालिका मेयर धनराज आचार्य लगायत पर्यटन व्यावसायी र अन्य सर्वसाधरणहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा सबैले पोखरामा अन्तर्राष्ट्रिय उडानको सुरुवात भएको, चिनियाँ पर्यटन, पोखरामा हुन लागेको नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभलका बारेमा चर्चा गरेका थिए । केहीले अरु चिनियाँ पर्यटकहरुलाई  पोखरा आउन निमन्त्रण बाढ्दै थिए ।

औपचारिक कार्यक्रमकै बीचमा मन्त्री सुदन किरातीको बोल्ने पालो आयो । उनको बोलीमा निकै आत्मीयता झल्किन्थ्यो । उनले पोखरेलीको खुसी चिनियाँ पाहुनासँग साटे । चिनियाँ नेपालका लागि पाहुना मात्र नभएर नातेदार भएको विषयमा जोड दिए । 

नेपाल र चीनबीचको सम्बन्ध युगौंँदेखि रहँदै आएको उल्लेख गरे । राजा अंशुवर्माकी छोरी भृकुटी तिब्बती राजा स्रोङचङ गम्पोसँग बिहे गरी गएको उल्लेख गर्दै उनले नेपालीले चिनियाँ नागरिकलाई पाहुना मात्रै नभइ अत्यन्त नजिकको नाता सम्बन्धका रुपमा लिने गरेको बताए । अन्त्यमा उनले भने, ‘तपाईहरु नेपाल आउँदा हामीलाई भाञ्जाभाञ्जी आए जस्तो लाग्छ, तपाईहरुलाई मामाघर आए जस्तो लाग्दैन...’ 
 


Author

थप समाचार
x