पोखरा–मुग्लिन सडक विस्तार योजना
अतिक्रमण गरेर बनाइएका संरचनामा पोखरा महानगरको डोजर [फोटोफिचर]
पोखरा- पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तारको काम चलिरहेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक खण्ड विस्तार गरी डेडिकेट ४ लेनको बनाइँदैछ । मुग्लिनदेखि जामुनेसम्म एक खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड गरी २ भागमा विभाजन गरेर काम भइरहेको छ । तर, दुवै खण्डमा सोचेजस्तो कार्य प्रगति नहुँदा यो सडक खण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले सास्ती खेप्दै आएका छन् ।
बिजुलीको पोल, खानेपानीको पाइप र मापदण्डमा परेका घरसंरचनाका कारण काममा ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । जामुनेदेखि पोखरा ३८.८८ किलोमिटर अन्तर्गतको कास्की खण्डमा १ सय ७० घर तथा संरचना सडकको मापदण्ड भित्र रहेका छन् । कास्की तर्फका संरचनाहरू सबै पोखरा महानगरपालिका भित्र पर्छन् । काममा ढिलाई भएपछि कास्की तर्फको संरचना भत्काउन पोखरा महानगरले साथ दिएको छ ।
सोही अनुसार पोखरा महानगर पालिकाले पृथ्वी राजमार्गको दायाँ बायाँ मापदण्डमा परेका घरसंरचना सोमबारदेखि भत्काउन सुरु गरेको छ । मुग्लिन सडक विस्तार गर्नका लागि साइट क्लियर गरिदिन पोखरा महानगर पालिकाले सोमबारबाट डोजर लगाउन थालेको हो । सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइ हुनेछ । सडकको बीच भागबाट २३/२३ मिटर दायाँ–बायाँका संरचनामा डोजर चलाएको महानगरका मेयर धनराज आचार्यले बताए ।
महानगरले एक महिनाअघि नै भत्काउन लागिएका संरचना आफैँ भत्काउन सूचना दिएको थियो । सडक मापदण्डभित्र पर्ने स्थायी संरचना मुआब्जा वितरण सकिएपछि भत्काउन थालिने मेयर आचार्यले बताए । पोखरा–मुग्लिन सडक आयोजनामा पर्ने उक्त खण्डमा रहेका मापदण्डविपरीतका संरचना हटाउन सडक विभाग एक्लैले नसकेपछि महानगरले सहयोग गरेको प्रमुख आचार्यले बताए । ‘सडकको ‘राइट अफ वे क्लियर’ नभएसम्म निर्माण कम्पनीले पनि काम अप्ठ्यारो भएको जनाउँदै आएको थियो, मापदण्डभित्रका संरचना हटाएपछि पोखरातिरबाट सडक विस्तारको काम सुरु हुन्छ,' उनले भने, ‘यही सडक हेर्न एडिबीको टोली पनि आउँदैछ, सडक विभागको काममा हामी पनि सहजीकरण गर्छौं ।’
कास्की र तनहुँको सीमा कोत्रेसम्मै पृथ्वी राजमार्गको दायाँबायाँ अतिक्रमण गरेर बनाइएका घरटहरादेखि सबैखाले संरचना हटाइने मेयर आचार्यले जानकारी दिए । ‘मापदण्डभित्र पर्ने संरचना हटाउन पूर्वसूचना गरिएको थियो, नगर प्रहरीले घरघरै गएर त्यस्ता संरचना हटाउन पनि भनेको थियो, हिजो हामीले माइकिङ पनि गर्यौँ,' उनले भने, ‘यति गर्दा पनि व्यवसायी र घरधनीले अटेर गरेपछि महानगर आफैँले संरचना हटाउन सुरु गरेको हो ।’
पृथ्वीचोकदेखि विजयपुरखोलासम्म २६ वटा संरचना भत्काउनुपर्ने सडक आयोजनाको पश्चिम खण्डका लेखा अधिकृत महेश ढकालले जानकारी दिए । पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा महानगरभित्रका १७० घर भत्काउनुपर्ने मध्ये हालसम्म ११२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण गरिसकेको लेखा अधिकृत ढकालले बताए । यस खण्डका १३० जना घरधनी रहेकोमा हालसम्म ८४ जनाले मुआब्जा बुझिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया