फिर्के अध्ययन टोलीको प्रतिवेदन
फर्किएला त फिर्केको सेरोफेरो ?
पोखरा- पोखरा महानगरपालिकाले गत साउन ३ गतेदेखि महानगरको बीच भागबाट बग्ने फिर्के खोला खोज्न थाल्यो । पोखरा महानगरपालिका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायत अन्य सरोकारवालाहरूको उपस्थितिमा खोलाघर छुट्याउने काम सुरुवात भएको थियो । सुरुवात गर्ने समयमा नै मेयर आचार्यले काम एक हप्तामा सकिने बताएका थिए । तर, एक महिनापछि बासुदेव पौडेल नेतृत्वको सर्वेक्षण टोलीले नापीको काम सक्यो ।
फिर्के अध्ययन टोलीले महानगरपालिकालाई शनिबार प्रतिवेदन बुझाएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन् । प्रतिवेदन बुझ्ने समयमा सम्बन्धित वडाका वडा अध्यक्षहरू उपस्थित थिए । फिर्के पोखराको २, ४, ५, ६, ७, ८, १७ र १८ नम्बर वडा छोएर बग्छ ।
अध्ययन टोलीको प्रतिवेदनअनुसार फिर्केको खोलाघरमा १ सय ६० संरचना निर्माण भएको छ । त्यसमध्ये १ सय ७ वटा अस्थायी छन् भने ५३ वटा स्थायी छन् । फिर्के मिच्नेमा व्यक्ति मात्रै नभएर सरकार र विभिन्न संघ संस्था समेत छन् । १ सय ३२ वटा संरचना व्यक्तिगत र बाँकी संरचना संस्थागत र सरकारी रहेको प्रतिवेदनमा उल्लेख छ । सशस्त्र प्रहरी बलको तालिम केन्द्रको दुईवटा भवन फिर्केको खोलाघरमा निर्माण भएको छ । कुँवर समाज घरका दुईवटा भवन पनि खोलाघरमै पर्छन् । बराल समाज घर, सोंपाल समाज घर र भयरथान महिला समूहको भवन फिर्के खोला बग्ने ठाउँबाटै पिलर ठड्याएर निर्माण गरिएको छ ।
अध्ययन टोलीले फिर्केको पश्चिमतिर ३ सय ३ र पूर्वतिर २ सय ८५ गरी ५ सय ८८ वटा सीमा स्तम्भ गाडिदिएको छ । अँधेरी कुनाबाट पोखराको मध्यभाग भएर बग्ने फिर्के फेवातालमा मिसिन्छ । २०३२ सालको नापीलाई आधार मानेर गरिएको अध्ययन अनुसार यो खोला ४ मिटरदेखि ९ मिटरसम्म गहिरो छ भने ३.३ मिटरदेखि ४० मिटरसम्म फराकिलो छ । तर, अहिले कतिपय ठाउँमा खोलाको अस्तित्व समेत भेटिँदैन । अध्ययन टोलीले फिर्के बचाउन तत्कालै भौतिक संरचना निर्माणको काम रोक्न महानगरलाई सुझाएको छ । फिर्केमा पार्कसँगै पहुँच मार्ग, चेकड्याम, पैदल तथा साइकल ट्रयाक निर्माण गर्न सकिने सुझाव दिइएको छ ।
‘कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ । राधाकृष्ण मन्दिर र अँधेरीकुनाको सामुदायिक भवन पनि फिर्केमै बनेको छ । लिटिल स्टेप बोर्डिङ स्कुलका दुईवटा भवन, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घरको अर्को भवन, गिरी समाज घर, सोंपाल समाज घर, बगालेटोलको किरियापुत्री भवन, पोखरा फोटो ग्राफर संघ, अर्चलबोट किरियापुत्री भवन र पुन मगर समाजले फिर्केमाथि पक्की भवन बनाएका छन् । अर्को किरियापुत्री भवन, बराल कल्याण मन्दिर, शिव मन्दिर, राधाकृष्ण आश्रम, लायन्स क्लब भवन, इलेक्ट्रिक एसोसियसन र फिर्के तमु समाजको भवन पक्की बनेको छ ।
अतिक्रमण र प्रदूषणका कारण खोलाको स्वतन्त्र बहावमा अवरोध सिर्जना भएको र अहिले पनि खोला किनारको सार्वजनिक जग्गाहरू अतिक्रमणको क्रम नरोकिएको प्रतिवेदनले जनाएको छ । ‘पाकापुस्ताको अनुभवमा केही वर्षअघिसम्म वरपरका नागरिकले फिर्केकै पानीले मही मोथेर नौनी निकाल्ने गरेका रहेछन् । नुहाउने, पौडी खेल्ने र वस्तुभाउलाई खुवाउन फिर्केको पानी पर्याप्त रहेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘अहिले जताततै फोहोर छ । कतिपय ठाउँमा खोला खोज्नै मुस्किल छ ।’ २ दशकअघिसम्म फिर्केको पानी पिउन योग्य रहे पनि तीब्र सहरीकरणसँगै फिर्के प्रदूषित र अतिक्रमित भएको रिपोर्टमा उल्लेख छ । २ महिना लगाएर टोलीले फिर्केको अध्ययन गरेको थियो । ८ किलोमिटर लामो फिर्के खोला पोखराका ८ वटा वडा छिचोलेर बग्छ ।
फिर्के तथा बुलौदी खोला हुँदै फेवातालसम्म पुगेका प्लाष्टिकजन्य फोहोर तथा सिसा र विषाक्त रसायनका कारण प्राणी जीवन संकटमा पर्नुका साथै मानव जीवनमा समेत घातक प्रकृतिका जटिल रोगहरूको जोखिम बढ्ने गरि वातावरणीय प्रदूषण भइरहेको प्रतिवेदनमा उल्लेख छ । खोला फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेकाले तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन बुझ्दै पोखराका मेयर धनराज आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँचसहितको एक महत्वपूर्ण दस्तावेज तयार भएको बताए । ‘यो प्रतिवेदनले खोलाघरमाथिको अवस्था देखाइदिएको छ, यसको कार्यान्वयनका सम्बन्धमा महानगरपालिकाको कार्यपालिकामा आवश्यक छलफल गरी उपयुक्त निर्णय गर्नेछौँ,’ प्रमुख आचार्यले भने, ‘सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी यसमाथिका संरचनाहरू हटाइनेछ ।’ दिगो पर्यटन विकास परियोजना अन्तरगत यसको संरक्षण, सम्वर्द्धन र विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
मेयर आचार्यले फिर्के कोरिडोर विकास कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । महानगरका अनुसार एसियाली विकास बैंकले पोखरामा दिगो पर्यटनका लागि विभिन्न परियोजना सञ्चालन गर्दैछ । उक्त परियोजनामा फिर्केलाई समेत समावेश गरिने महानगरले जनाएको छ । एडिबीले दिगो पर्यटनका लागि ७ अर्ब लगानी गर्दैछ ।
उपप्रमुख मन्जुदेवी गुरुङले फिर्केखोलामाथि बनेका संरचनाहरू हटाउने कार्यमा आमपोखरेलीहरूको साथ र सहयोग रहने अपेक्षा व्यक्त गरिन् । महानगरपालिकाले प्रतिवेदनका आधारमा खोलाघर खाली गर्ने बताउँदै उनले यसको संरक्षणका लागि तत्काल काम गर्नुपर्ने अवस्था रहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सार्वजनिक सम्पत्तिको दोहनलाई रोक्दै संरक्षण तथा विकासका गतिविधिहरू सञ्चालन गरिने बताए । फिर्केखोलाको प्राविधिक प्रतिवेदनमा उल्लेख भएका विषयवस्तुहरूको कार्यान्वयनका लागि प्रशासनिक संयन्त्रका रूपमा पोखरा महानगरपालिका तयार रहेको उनले सुनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया