गण्डकी

अक्सिजन अभावले कास्कीमा एकैरातमा ६ जनाको मृत्यु

इकागज |
जेठ १४, २०७८ शुक्रबार १०:४५ बजे

फाइल फोटो

पोखरा : बिहीबार बेलुका पौने ८ बजे कालिगण्डकी अक्सिजन प्रालिका सञ्चालक कालिदास बराल आफ्नै क्याबिनमा बसिरहेका थिए । हक्कानिँदै उनको क्याबिनमा एक युवक आइपुगे । आफूलाई तत्कालै एक अक्सिजन सिलिन्डर चाहिएकाले उपलब्ध गराइदिन ती युवाको बिलौना थियो । आफ्नी माइजू गण्डकी अस्पतालमा भर्ना भएको र अक्सिजन नपाए तत्कालै मृत्यु हुन सक्ने उनको गम्भीर बयान थियो ।

गण्डकी अस्पतालमा अक्सिजनको माग पुर्‍याउने जिम्मा पोखरा अक्सिजन प्रालिको हो । उनलाई एक पल लाग्यो, ‘त्यो काम पोखरा अक्सिजन प्रालिको हो, उसैसँग माग्न भन्छु ।’ त्यसमाथि कालिगण्डकी अक्सिजन प्रालिले दिनभर उत्पादन गरेको अक्सिजन बाहिर पठाइसकेको थियो । युवकको बिलौना सुन्दा उनको मन मानेन, निःशुल्कै भएपनि सानो पाँच लिटरको आफूसँग भएको सिलिन्डर पठाउन चाहे । 


युवकले आफ्नी माइजू चार दिनको सुत्केरी भएको र एकदमै ‘क्रिटिकल’ अवस्थामा रहेको थप विवरण सुनाएपछि तत्कालै बरालले फिल्डबाट एउटा अक्सिजन मगाए । अक्सिजन सिलिन्डर त आयो । तर उता महिलाको ज्यान गइसकेको थियो । ‘अक्सिजन खोजेरै पनि ल्यायौं, तर ती युवकलाई मृत्यु भएको खबर आइसकेको थियो,’ बरालले त्यतिबेला घटनाक्रम सुनाए ।

ती महिलाले गत शुक्रबारमात्रै बच्चा जन्माएकी थिइन् । उनलाई अस्पतालमै कोभिड देखिएको थियो । स्वास्थ्य अवस्था सामान्य नै थियो । बीचमा केही बिग्रेपनि बिहीबार दिउँसोसम्म स्वास्थ्य अवस्था सुध्रिसकेको थियो । 

उनलाई अक्सिजन दिएर राखिएको थियो । राति अक्सिजन अभाव भएपछि उनीलगायत ६ संक्रमितले ज्यान गुमाएका हुन् । ‘अक्सिजन अभाव भयो भनेर भनेनन्, १५ मिनेटसम्म अक्सिजन नदिएपछि हामी आफैं बुझेर अक्सिजन खोज्यौं, तर बचाउन सकेनौं,’ मृतकका आफन्तले भने । अहिले बच्चाको अवस्था भने सामान्य भएको जनाइएको छ । 

एक साता अघिमात्र पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड उपचार केन्द्र बनाइएको थियो । ओपीडी सेवा बन्द गरेर प्रदेश सरकारको सिफारिसमा केन्द्र सरकारले अस्पताललाई कोभिड उपचार केन्द्रमा परिणत गरेको थियो । अस्पताल बनाएपनि सबै बेडमा अक्सिजन पाइपलाइन भने पु¥याइएको छैन । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट समेत छैन । पोखरा अक्सिजन प्रालिबाट आफूलाई आवश्यक अक्सिजन आपूर्ति गर्न ठेक्का दिइएको छ ।  

अस्पतालका कोभिड फोकल पर्सन बिमल बरालका अनुसार अस्पतालमा अहिले अक्सिजन चाहिने संक्रमितको संख्या अत्याधिक बढेको छ । आफ्नै अक्सिजन प्लान्ट नभएपछि बाहिरबाट अक्सिजन ल्याउनु पर्ने र बिरामीको चाप तथा अक्सिजनको माग बढेपछि अस्पतालमा समस्या आएको हो । अस्पतालले १५ जना बिरामीलाई हाइफ्लो अक्सिजन दिन सक्ने सामथ्र्य भएपनि दैनिक सो संख्या नाघिरहेको बरालले बताए । ‘अक्सिजन दिँदै थियौं, अचानक सकिएपछि समस्या आयो,’ बरालले भने । 


 


Author

थप समाचार
x