गण्डकी

पाण्डेको उपस्थितिमा पोखरामा नेपाल पक्षको ‘गोप्य’ भेला

अनिष भट्टराई |
मंसिर ७, २०७७ आइतबार २०:१४ बजे

पोखरा : नेकपाको विवाद चरमोत्कर्षमा पुगेका बेला गण्डकी प्रदेशको राजधानी पोखरामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको गोप्य भेला भएको छ । पूर्वमन्त्री तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखराको माउन्ट कैलाश रिसोर्टमा भेला भएको हो । 

नेकपा केन्द्रय सदस्य नेपाल पक्षीय नेतृ सिता गिरी ओलीले पाण्डेको उपस्थितिमा भेला भएको पुष्टि गरिन । उनले भेलामा ४० नेता कार्यकर्ता  सहभागी भएको पनि जानकारी दिइन । 


नेपाल पक्षले भेला राखेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पुष्टि गरे ।  ‘पाण्डेजीले भेला राखेको बताउनु भएन, तर मैले सोध्दा पोखरामा छु मात्र भन्‍नु भयो । भेला राखेको बुझेको छु,’ थापाले इकागजसँग भने । 

भेलाले पार्टी भित्रको विरोधलाई थप चर्काउने थापाले बताए । पाण्डेले शनिबार चितवनमा भेला राखेका थिए । भेलामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर कार्यकर्ताले हुलहुज्जत गरेका थिए ।  आज पनि त्यस्तै घटना दोहोरिन सक्ने भन्दै ओलीपक्षका नेता-कार्यकर्तालाई भेलामा रोक लगाइएको थियो । भेलाको प्रहरीले सादा पोशाकमा सुरक्षा दिएको थियो । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x