गण्डकी

९६ वर्षीया वृद्धाले जितिन् कोभिड

इकागज |
जेठ १६, २०७८ आइतवार १९:४३ बजे

बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीय वृद्धाले कोभिड १९ सङ्क्रमणलाई जित्न सफल भएकी छन् । दग्नामको कान्छी गाउँ घर भएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोभिड अस्पतालमा उपचार गरी निको भएकी हुन् । सात दिनअघि सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना सङ्क्रमण मुक्त भएपछि उनलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा  सन्तोषप्रसाद बोहराले जानकारी दिइन् । ‘‘उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा ल्याउनुभएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार ग¥र्यौं, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौँ’’, डा बोहराले भने । 


अस्पतालसम्म ल्याइपु¥याउँदा मानिस चिन्न समेत छाडिसकेकी वृद्धा आमाले कोभिड जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्केको पुनका छोरा खिमबहादुर पुनले बताए ।  ‘‘अस्पतालको उपचारबाट हामी खुसी छौँ, शुरुमा आमाले मलाई समेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ’’, पुनले भने ।  

कोभिड जितेर निको भएपछि वृद्धा पुनलाई गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरुबाट सिफारिस भएका औषधिहरु उपलब्ध गराएर बिदाई गरेका थिए । सो अवसरमा पुनले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर उक्त सेवाकै लागि रु सात हजार नगद समेत सहयोग हस्तान्तरण गरेका थिए । रासस 


Author

थप समाचार
x