गण्डकी

बिकेन कागती : गत वर्ष ६ लाख आम्दानी, यसपाली बोटमै छ

इकागज |
कात्तिक १६, २०८० बिहीबार ९:६ बजे

वालिङ (स्याङ्जा)- स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गरेका थिए । यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गर्न सकेका छैनन् । कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन् ।  उत्पादन भएको कागतीले बजार नपाउँदा चिन्तित भएका हुन् ।

'गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो', उनले भने, 'यस वर्ष सिजन (याम) मै  बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।' 


बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउँछन् । 'कसैले  बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ', उनले भने । स्थानीय बजारमा दैनिक १०/१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए । 'दिनभर बजार डुलाउँदा मुश्किलले १०/१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ', पौडेल भन्छन् ।

पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन् । उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एकसय ५० कागतीका बोट लगाएका थिए । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् ।

आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमिएको पौडेलको भनाइ छ । 'सुरुका दिनमा पाँच रोपनी क्षेत्रफलमा एक सय पचास कागतीका बिरुवा लगाएँ', उनले भने, 'कागतीको उत्पादन र बजार राम्रो भएपछि पुनः पाँच रोपनी जग्गा किनेर फेरि एकसय ५० बिरुवा थपेँ ।' सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने उनले बताए । 

विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो रु एक सय ३० देखि रु दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष रु १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरुपमा कागती खेती गरेको उनी बताउँछन् । कागती भण्डारण गर्न शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ । 'भण्डारण गर्न पाए पछि उचित मूल्य पाइन्थ्यो कि भन्ने लागेको छ', उनले भने । रासस


Author

थप समाचार
x