गण्डकी

विघटनको बाटोमा प्रदेश सभा

अनिष भट्टराई |
जेठ २६, २०७८ बुधवार १३:३० बजे

फाइल तस्बिर

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहीबार विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री गुरुङले मंगलबार सदनमा विश्वासको मत लिनेबारे जानकारी गराइसकेका छन् । गत २९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण विश्वासको मत लिन लागेका हुन् । उनले २६ वैशाखमा राजीनामा दिए । तर संविधानको १६८ (२) अनुसार सरकार गठन हुन नसकेपछि प्रदेश प्रमुखले १६८ (३) अनुसार सरकार गठन गरेकी थिइन् । ठूलो दलको नेताको हैसियतमा गुरुङ फेरि मुख्यमन्त्रीमा दोहोरिएका थिए ।

६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ सांसदको साथ आवश्यक पर्छ । सत्तारुढ एमालेमा एक स्वतन्त्रसहित २८ सांसद छन् । एमालेलाई जनमोर्चा सांसद कृष्ण थापाको पनि साथ छ । यद्यपि संसदीय गणित अनुरुप मुख्यमन्त्री गुरुङलाई विश्वासको मत पुग्दैन । अर्कातिर विपक्षी गठबन्धनमा पनि सभामुखसहित ३१ सांसद छन् । सभामुखले मत हाल्न नपाउने भएकाले विपक्षीले पनि सरकार गठन गर्ने सम्भावना न्यून छ । कांग्रेसको १५, माओवादी १२ (सभामुखसहित), जनमोर्चा २ (कृष्ण थापाबाहेक) र जनता समाजवादीका २ सांसद छन् । कृष्ण थापाले साथ नदिने र एमालेका सांसदले ‘फ्लोर क्रस’ नगर्ने हो भने प्रदेश सभा विघटन हुनेछ । 


दुवै पक्ष अल्पमतमा भएपनि आ-आफ्नो सरकार रहने दुवै पक्षको दाबी छ । एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने दाबी गर्छन् । विघटन रोक्न विपक्षीहरुले मुख्यमन्त्री गुरुङलाई साथ दिने उनको दाबी छ । ‘उहाँहरुले बहुमत पुर्‍याउँछु भन्‍ने गफ हो, गफ हान्‍न पाइन्छ । विघटन रोक्न उहाँहरु आफैँले मत हाल्नुहुन्छ,’ अधिकारीले भने । 

केही दिन अघिसम्म जनता समाजवादी पार्टी पनि अहिलेकै सरकारमा जान सक्ने चर्चा थियो । २ सांसद भएको जनता समाजवादीलाई ३ मन्त्रालय दिने गरी सरकारमा जानेबारे प्रदेश कमिटि पनि बैठक चलाएको थियो । तर संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुख्यमन्त्री गुरुङलाई साथ नदिन भनेपछि जनता समाजवादी पनि सरकारमा जाने योजनाबाट पछाडि फर्किएको छ । 

जनता समाजवादी पार्टीका गण्डकी संसदीय दलका नेता हरिशरण आचार्यले आफूहरुको बहुमत पुग्ने र सरकार बन्‍ने दाबी गर्छन् । ‘भोलि उहाँहरुले कुनै हालतमा विश्वासको मत पाउनुहुन्‍न, हामी आउँछौं कि भन्‍ने आशा पनि नराख्दा हुन्छ,’ आचार्यले भने । जनता समाजवादी पनि सरकारमा जान नमानेपछि अब प्रदेश सभा अन्यौलको भूँमरीमा छ । कि त प्रदेशमा अब सर्वदलीय सरकार बन्‍नुपर्छ कि त विघटनको बाटोमा बढ्नुपर्छ । एमालेले आफूबाहेकको नेतृत्वमा सर्वदलीय सरकार अस्वीकार गरेपछि प्रदेश सभा विघटन हुने संकेत देखिएको हो ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सर्वदलीय सरकार बनाउन पहल थालेका थिए । कांग्रेस र एमालेले एकअर्कालाई स्वीकार नगर्ने भएकाले माओवादीको नेतृत्वमा सरकार बनाउन मध्यमार्गी पहल उनको थियो । तर त्यो पहल पनि असफल भएको छ । ‘अझै त्यसको विकल्प त छ, तर एमालेले मानेनन् । हामी एमालेसँग मिलेर गए हामीले आत्मसमर्पण गरेजस्तो हुन्छ,’ चुमानले भने । 

अब सर्वदलीय सरकार नबनाई आफूहरुले सजिलै बहुमत पुर्‍याउने चुमानको दाबी छ । आफूहरुको पक्षमा सत्ता पक्षका केही सांसदको साथ भएको उनले संकेत गरे । ‘कृष्ण थापा अब हामीलाई चाहिँदैनन्, हाम्रो ३१ पुग्छ पुग्छ,’ उनले भने । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला कृष्ण थापालाई ह्वीप लाग्ने र नमाने कारबाही गरेर विपक्षीले सरकार बनाउन सक्ने जनमोर्चा सांसद पियारी थापा बताउँछिन् । ‘पछि कृष्ण थापालाई ह्वीप लाग्छ, नमाने कारबाही हुन्छ अनि विपक्षीकै सरकार बन्‍ने अवस्था आउन कठिन छैन,’ उनले भनिन् ।

विपक्षी गठबन्धनले सत्ता पक्षबाटै ‘फ्लोर क्रस’ हुने दाबी गर्छ । जनता समाजवादी संसदीय दलका नेता हरिशरण आचार्य आफूहरु अल्पमतमा परेको देखिएपनि केही सत्ताकै सांसद आफूहरुतिर आउने बताउँछन् । ‘अहिले अल्पमतमा देखिएका हौं, त्यो दिनसम्म अरुको पनि हामीले पाउन सक्छौं नि,’ आचार्यले भने । 

एमालेमा १ जना माधव नेपाल पक्षधर सांसद छन् । इन्द्रलाल सापकोटा माधव पक्षीय भएकाले भएकाले ‘फ्लोर क्रस’ हुन सक्ने विपक्षीको आशा छ । तर सापकोटा भने आफू संसदीय दलको निर्णयबाट नहट्ने र ‘फ्लोर क्रस’ नगर्ने दाबी गर्छन् । बहुमत पुर्‍याउन सभामुखको राजीनामा ? कांग्रेस नेतृत्वको गठबन्धनमा ३१ सांसदको साथ छ । ३१ मा सभामुख पनि पर्छन् । तर सरकार गठनका लागि बहुमत दाबी गर्ने बेला सभामुखको मत मान्य हुँदैन । मतदानमा मत बराबर भएमात्र सभामुखले मत हाल्न पाउने व्यवस्था छ ।

यसकारण कृष्ण थापाले साथ नदिए विपक्षीहरु अल्पमतमा पर्ने देखेपछि सभामुखले राजीनामा दिन सक्ने चर्चा चलेको छ । माओवादी संसदीय दलले प्रदेश अध्यक्ष हितराज पाण्डेसँग छलफल गरी केन्द्रीय कमिटीको निर्देशन कुरिरहेको बुझिएको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले छलफल चलिरहेको बताए । सभामुखले राजीनामा दिनुपर्ने स्थिति आए राजीनामाका लागि तयार रहेको चुमानले बताए । ‘सबै विकल्पमा छलफल चलिरहेका छन्, स्थिति आयो भने राजीनामा आउन पनि सक्छ,’ चुमानले भने ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x