गण्डकी

पोखरामा क्यान्सर बनाउने रसायन हालेर केरा पकाउने धन्दा !

५८ रुपैयाँमा खरिद माल्टा ३०० रुपैयाँमा बिक्री

अनिष भट्टराई |
जेठ २७, २०७८ बिहिवार ७:५३ बजे

पोखरा : उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाको म्यासेन्जरमा मंगलबार एउटा म्यासेज आयो । एक युवकले काँचो केरामा स्प्रे गरिरहेको फोटो म्यासेजमा पठाइएको थियो । फोटोसँगै अर्को म्यासेजमा लेखिएको थियो, ती पसलेको पसल ठेगाना । फोटो पोखराका एक पत्रकारले खिचेर पठाइदिएका थिए । पृथ्वीचोकको कृषि उपज बजारको सटर नम्बर ६९ भुर्तेल फ्रुट सेन्टरमा खिचिएको फोटो कोइरालालाई पठाइएको थियो । 

तत्कालै कोइरालाले आफ्नो टोलीलाई खबर गरे । मंगलबार बेलुका एउटा टोली बनाइयो, अनुगमनमा जानका निम्ति । उपभोक्ता हित संरक्षण निर्देशनलाय गण्डकीका निर्देशक नारायण आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका शिवजी बराल, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनका कर्मचारीलाई राखेर टोली बनाइयो । 


बुधबार बिहानै टोली कृषि उपज बजार पुग्यो । सुरुमा सटर नम्बर ६९ भुर्तेल फ्रुट सेन्टरमा गयो । त्यहाँ स्प्रे गर्ने मेसिन थियो । भण्डारण गरेर राखिएका काँचो केरा पनि थिए । उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका अध्यक्ष कोइरालाका अनुसार उक्त स्प्रेबाट क्याल्सियम कार्बाइड हालिएको थियो । क्याल्सियम कार्बाइड फलफूल पकाउन प्रयोग गरिन्छ । तर फलफूलमा क्याल्सियम कार्बाइडको प्रयोग नेपालमा निषेध गरिएको छ । खाद्य नियमावली २०२७ को परिच्छेद ७ को नियम १९ मा कार्बाइड लगायत दूषित रसायनको प्रयोगलाई निषेध गरिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालका अनुसार कार्बाइडको धेरै प्रयोग गरे क्यान्सरसमेत हुन सक्छ । ‘कार्बाइडको लामो प्रयोगलेक्यान्सरसम्म हुन सक्छ, सुरुमा वान्ता आउने र चक्कर लाग्ने बनाउँछ,’ बरालले भने । केरामा क्याल्सियम कार्बाइडको प्रयोगले छिटो पकाउँछ । सामान्य तरिकाले पकाउन राख्न हो भने काँचो केरालाई तापक्रम मिलाएर ३ दिनसम्म राखेपछि मात्र खान मिल्ने हुन्छ । तर २४ घन्टामै पाकेको देखिने, बिजुलीको प्रयोग नहुने भएपछि व्यापारीहरुले कार्बाइडको प्रयोग गर्ने गरेको बराल बताउँछन् । 

सटर नम्बर ६९ भुर्तेल फ्रुट सेन्टर ८ वर्षबाट नवीकरण नगरी चलाइएको पाइएको छ । ‘८ वर्षबाट नवीकरण फेल भएपनि चलाइएको रहेछ,’ कपिलनाथ कोइरालाले भने ।यहाँबाट केराका नमूना लगेर अहिले जाँचको चरणमा छ । नमूनाको नतिजा आएपछि सटर नम्बर ६९ का सञ्चालकलाई कारबाही गरिने जनाइएको छ । 

यस सटरमात्र हैन अहिले लकडाउनको छेको पारेर अरु सटरमा पनि चरम मूल्यवृद्धि गरी फलफूल तरकारी बेचिएको पाइएको छ । सटर नम्बर ८० को माँ बालकुमारी फ्रुट सेन्टरले झनै ४ सय प्रतिशतसम्म फाइदा खाएर फलफूल बेचेको पाइएको छ । ५८ रुपैयाँ प्रतिकिलो माल्टा किनेर पसलले ३०० रुपैयाँ प्रतिकिलो माल्टा बेचेको पाइएको हो । कृषि उपज बजारकै नितेश सप्लायर्सले पनि १५० प्रतिशत शुल्क बढाएर फलफूल बेचेको पाइएको उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका अध्यक्ष कोइरालाले बताए । १ सय रुपैयाँ प्रतिकिलोमा खरिद गरिएको मेवालाई साढे २ सय रुपैयाँ प्रतिकिलो बेच्ने गरेको पाइएको कोइरालाले जानकारी दिए । 

नेपालमा खाद्य ऐन अनुसार २० प्रतिशतसम्ममात्र नाफा खाएर केही सामान बेच्न पाइन्छ । तर कृषि उपज बजारका व्यापारीले निकै ठूलो मार्जिन राखेर बेच्ने गरेका हुन् । व्यापारीहरुमाथि अनुसन्धान थालिएको र दोषी भेटिए कालोबजारीको कारबाही तथा केही सामाजिक अपराध ऐन २०३२, खाद्य उेन २०२३, खाद्य ऐन २०२८, उपभोक्ता संरक्षण ऐन २०७६ बमोजिम कारबाही हुने जनाइएको छ । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x