कार्यव्यवस्था परामर्श समितिसँग छलफलविनै प्रदेश सभा बैठक
फाइल तस्बिर
पोखरा : संसद बैठक बस्नु अघि सदनको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्छ । बैठकमा सदन कसरी चलाउने, कति समय चलाउने, कुन विषयवस्तु लैजाने जस्ता कुरा टुङ्गो लगाइन्छ । कार्यव्यवस्था परामर्श समितिले सभामुखलाई परामर्श दिन्छ । तर गण्डकी प्रदेश सभाका सभामुख भने कार्यव्यवस्था बैठक नै नबसी एकलौटी ढंगले सदन चलाउन थालेका छन् ।
शुक्रबार पनि सभामुख अधिकारीले कार्यव्यवस्थाको बैठक नराखी एकलौटी ढंगले सदन चलाएका छन् । कार्यव्यवस्थामा छलफल नै नगरी कृष्ण थापालाई कारबाही सम्बन्धी पत्र पढेर सुनाएका छन् । प्रदेश प्रमुखलाई विश्वासको मत सम्बन्धी मुख्यमन्त्रीले राखेको प्रस्ताव अस्विकृत बारे प्रदेश प्रमुखलाई जानकारी गराउने र प्रदेश सभा सञ्चालन सम्बन्धी ऐन संशोधन समितिको म्याद थप गर्ने कार्यसूची छ ।
एमाले सांसद तथा कार्यव्यवस्था परामर्श समिति सदस्य कृष्णबहादुर थापा सभामुख निरकुंश बनेको र एकलौटी रूपले अघि बढेको बताउँछन् । संसदीय इतिहास र मर्यादा तोड्दै कार्यव्यवस्था छलेर एकलौटी कार्यसूची बनाएको उनले बताए ।
‘सभामुख अब सभामुख रहनु भएन, पार्टीको गुरिल्ला सभामुख बन्नभुयो,’ उनले भने । विश्वासको मत लिन हिजै असफल भएको बारे जानकारी गराउनुपर्ने भए पनि कृष्ण थापामाथि कारबाहीको पत्र सुनाएरमात्र गराउनुले थप शंका गर्ने कारण बनेको थापाले बताए । ‘हिजै जानकारी गराउनुपर्ने हो नि । कृष्ण माननीयलाई कारबाहीको पत्र सुनाएर जानकारी गराउनु भनेको आफूहरूको ३० सांसद साथ भएमात्र पुग्छ भनेर हो, सभामुख नै यत्रो छलछाममा किन ?’ उनको प्रश्न छ ।
अर्का सांसद धनञ्ज्य दवाडी इतिहासलाई नै मात खुवाउने गरी सभामुखले पदीय मर्याद भुलेको बताउँछन् । ‘इतिहासलाई नै उहाँले माथ खुवाउनु भयो । सभामुखको यो शैली ठीक होइन,’ दवाडीले भने । यसअघि जेठ २० को बैठक पनि सभामुखले छलफल नै नगरी डाकेका थिए । एमाले सांसदहरुले बैठक अस्विकार गरेपछि सदन स्थगित भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया