गण्डकी

गण्डकीमा सत्ता संघर्ष

गण्डकीमा प्रतिगमन लाद्‍‍ने प्रधानमन्त्री ओलीको प्रयास असफल

चलखेल हुँदाहुँदै पनि कसरी पल्टियो गण्डकीको सत्ता ?

अनिष भट्टराई |
जेठ २९, २०७८ शनिबार २०:११ बजे

पोखरा : शुक्रबार विपक्षीले बहुमत हस्ताक्षर देखाएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया र विपक्षीले बुझाएको दाबी हेरेर कदम चाल्ने भन्दै शुक्रबार विपक्षी गठबन्धनलाई फर्काइन् । ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान बमोजिम नै काम गर्ने हो,’ उनले भनेकी थिइन् । 

शुक्रबार नै विपक्षीले बहुमत दाबी गर्दागर्दै प्रदेश प्रमुखले फर्काएपछि विपक्षी र कार्यकर्तामा संशय छाएको थियो । केन्द्रको मोडल पोखरामा पनि अभ्यास हुने र विघटन हुने आशंका विपक्षीमा बढी देखिन्थ्यो । यसको ‘ट्रेलर’ शनिबार प्रदेश प्रमुखको निवासमा देखियो पनि । 


बहुमत दाबी गर्दै पृथ्वीसुब्बा गुरुङले पत्र बुझाइदिए । उसो त गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आरामसँग मार्गप्रशस्त गर्न चाहन्थे । केन्द्रको लगातार दबाब पछि गुरुङले पत्र दिएको उनी निकट स्रोत बताउँछ । ‘राजनीतिक करियर नै खराब हुने भएकाले उहाँले छाड्न चाहनुभएको थियो, तर केन्द्रबाट लगातार दबाब आएकाले दाबी पेश गर्नुभएको हो,’ स्रोतले भन्यो । 

मुख्यमन्त्री गुरुङलाई जनता समाजवादी पार्टीको प्रदेश कमिटीले साथ रहेको पत्र दिएको थियो । समाजवादीको पत्र शुक्रबार नै प्रदेश प्रमुखकहाँ पुगेको स्रोतको दाबी छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पनि प्रदेश प्रमुखकहाँ उपस्थित नै भएर आफ्नो साथ रहेको घोषणा गरिदिए । मुख्यमन्त्री गुरुङलाई पनि आफ्नो बहुमत नरहेकोमा निश्चित थियो । ‘आफ्नै पक्षमा २८ छन् । हेरौं दाबी दिएको छु,’ गुरुङले भनेका थिए । 

प्रदेश प्रमुख सीताकुमारी पौडेलले पनि राष्ट्रपतिकै अभ्यास अपनाएर सदन विघटन गर्न सक्ने डर विपक्षीमा छाएको थियो । संविधानको धारा ७६ (५) बमोजिमको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आह्वानमा दुवै पक्षको बहुमत नदेखिएको भन्दै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरिन् । जेठ ८ मा केन्द्रमा भएको घटना पोखरामा पनि दोहोरिने देखिएको थियो । 

विपक्षी गठबन्धनका ३१ सांसद नै धर्नामा बसे । मुख्यमन्त्री, प्रदेश प्रमुखलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राख्दै नारा जुलुस पनि लगाइयो । ‘यसरी फर्जी पत्र दिने र लिने मुख्यमन्त्री, प्रदेश प्रमुखलाई पक्राउ गरी कारबाही गरियोस्,’ कांग्रेस सांसद कुमार खड्काले भने । 

चर्को विरोध भएपछि छवि बिग्रने डरले मुख्यमन्त्री गुरुङले लगत्तै प्रदेश प्रमुखलाई फोन गरे । ‘जबरजस्ती सत्तामा बस्दिन, कानूनसम्मत गर्नुस्,’ मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई भनेको स्रोतले बतायो । चर्को विरोध र हुलदंगा भएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । 

यसरी पल्ट्यो सत्ता ? 

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फसेका बेला सर्वोच्चले एकता बदर गरिदिएपछि प्रदेश सभामा सत्ता समीकरणको खेल सुरु भएको थियो । २५ चैतमा माओवादीबाट सरकारमा सहभागी मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएका थिए । २ वैशाखमा कांग्रेस, माओवादी, जनमोर्चा र समाजवादीको गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेको थियो । त्यसअगावै प्रदेश प्रमुखले चालु सातौं अधिवेशन अन्त्य गरिदिएका थिए । 

विपक्षीले सोही दिन विशेष अधिवेशन डाक्नका लागि समावेदन दिए । १३ वैशाखमा विशेष अधिवेशन सुरु भएपछि १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर सभामुखले हठातमा अनिश्चितकालका लागि बैठक स्थगित गरिदिएपछि २७ वैशाखमा मतदान गर्ने सहमति जुटेको थियो । 

त्यसअगावै २६ वैशाखमा मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि ठूलो दलको नेताको हैसियतले गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिएका थिए । नेपालको संविधानको धारा १६८ (३) ले बहुमतको सरकार बन्न नसके ठूलो दलको नेताले सरकार बनाउन सक्ने व्यवस्था गरेअनुरुप मुख्यमन्त्री बनेका थिए । 

मुख्यमन्त्री बनेको एक महिनामा विश्वासको मत लिनुपर्ने बाध्यता अनुसार गुरुङले बिहीबार सदन फेस गरे । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले नेपालको संविधानको १६८ (४) बमोजिम विश्वास मागेका थिए । 

६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र १ जना तटस्थ बसेका थिए । १ सांसद अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापा तटस्थ बसेका थिए । विश्वासको मत लिने दिन नै उनलाई आफ्नैले धोका दिए । आफैँले मन्त्री बनाएका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले साथ छाडे । दीपक मनाङकै निर्णायक हस्ताक्षरमा गण्डकीमा सत्ता पल्टियो । ओलीको दबाबमा गण्डकीको सम्भावित प्रतिगमन टर्यो । 


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x