गण्डकी

स्वास्थ्य क्षेत्रमा गण्डकी सरकारको नीति कार्यक्रम: ट्रमा सेन्टर स्थापनादेखि यौनहिंसामा परेकालाई नि:शुल्क शिक्षा

इकागज |
जेठ ३१, २०७८ सोमबार १६:१८ बजे

फाइल तस्‍बिर

पोखरा : गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु, मिर्गौला र क्यान्सर रोगको उपचार व्यवस्था गरिने भएको छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीता कुमारी पौडेलले मध्यविन्दू अस्पताल र लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको बताइन् । महिलाको स्तन, पाठेघर क्यान्सर तथा आङखस्ने समस्या भएकाहरूको तथ्यांक संकलन गरी नि:शुल्क उपचारको व्यवस्था गरिने जनाइएको छ । पोखरामा ट्रमा सेन्टर स्थापना गरिने प्रदेश प्रमुख पौडेलले बताइन् । यौन हिंसामा परेकालाई व्यावसायिक शिक्षा र उच्च शिक्षा नि:शुल्क दिइने नीति सरकारको छ । 

कोभिड खोपको व्यवस्थापनका लागि प्रदेशले केन्द्रसँग समन्वय गर्ने नीति गण्डकी प्रदेश सरकारले लिएको छ । कोभिड संक्रमितको उपचारका लागि औषधि व्यवस्था गरिने, अभिभावक गुमाएका बालबालिकाका लागि उचित व्यवस्थापन गरिने कार्यक्रम लिएको छ । आफन्त गुमाएकाहरूलाई आर्थिक राहत दिइने जनाइएको छ । व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिइने बताइन् । 


संक्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार केन्द्र र सेन्टर अफ अक्सिजनको रुपमा विकास गरिने जनाइएको छ । यस्तै नवजात शिशु र गर्भवती महिलाको उद्दारका लागि एअर लिफ्टिङ सेवालाई निरन्तरता दिने कार्यक्रम प्रदेश सरकारको छ । पूर्ण खोप प्रदेश कार्यक्रमले निरन्तरता पाउने भएको छ । 

५० श्य्याका सबै अस्पतालमा आँखाको उपचार र जेष्ठ नागरिकको उपचार वार्ड सञ्चालन गरिने जनाइएको छ । डायलाइसिस सेवा गुणस्तरीय बनाउने नीति प्रदेश सरकारको छ । स्वास्थ्य बीमा, सरकारको जिम्मा कार्यक्रम अन्तर्गत बीमा गर्न छुटेकालार्य समावेश गरिने सरकारको नीति छ । जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्न पहल गरिने प्रदेश प्रमुख पौडेलले बताइन् । 

 प्रदेश शिक्षा नीति बनाइने र गण्डकी विश्वविद्यालयको भवन निर्माणलाई निरन्तरता दिइने जनाइएको छ । माध्यमिक तह परिक्षा सञ्चालन योजना, शैक्षिक योजना बनाउने, मातृभाषाको पाठ्यक्रम विकास गर्न स्थानीय तहसँग समन्वय गरिने पौडेलले बताइन् । 

सामुदायिक क्याम्पसहरुमा प्राविधिक विषय पढाइने नीति सरकारको छ । माध्यमिक विद्यालयमा विज्ञानको गुणस्तर वृद्धिका लागि पूर्वाधार बनाइने जनाइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा आवासीय विद्यालय बनाउने नीति लिइने पौडेलले बताइन् ।


Author

थप समाचार
x