गण्डकी

मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिने

जसपा सांसद भन्छिन्ः लिखित सहमतिविना सहकार्य हुँदैन

इकागज |
असार २, २०७८ बुधबार ११:५७ बजे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यही असार ४ गते विश्वासको मत लिने भएका छन् । शनिबार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले बताए ।

मुख्यमन्त्री नियुक्त भएको दिन पोखरेलले ४ जनालाई मन्त्री नियुक्‍त गरेर शपथ लिएका थिए । ११ मन्त्रालय भएको प्रदेशमा बाँकी मन्त्रालयमा विश्वासको मत लिएपछि मात्रै मन्त्री नियुक्त गर्ने तयारी रहेको खड्काले बताए । 


विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्चले खारेज गरेपछि सांसद कायम संख्या ५९ छ । सत्तारुढ गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २/२ र एक स्वतन्त्र सांसदको साथ छ । 

जसपा सांसद भन्छिन्ः लिखित सहमतिविना सहकार्य हुँदैन 

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा गठबन्धनकी १ सांसद भने लिखित सम्झौता विना सहयोग गर्न नसकिने बताउँछिन् । जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले ३ बुँदामा लिखित सम्झौता नभएसम्म सरकारलाई साथ नदिने बताइन् । 

पार्टीले अघि सारेका ३ बुँदामा सरकारले सहमति जनाउनुपर्ने उनको माग छ । संसदमा दलीय मान्यता पाउन १० प्रतिशतको थ्रेसहोल्डलाई खारेज गर्नुपर्ने, उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने, पार्टीका २ जना नै सांसद सरकारमा सहभागी हुनुपर्ने माग उनीहरूको छ । ‘सरकार ढल्न दिँदैनौं, ३ बुँदामा सहमति भए हुन्छ नत्र सरकारमा सहभागी भएर साथ दिन सकिन्नँ,’ लामाले भनिन् ।


Author

थप समाचार
x