म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
म्याग्दी- म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि सोमबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो ।
म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित र पाँच वर्षमुनिका चार हजार आठ सय ६९ जना बालबालिकाले पूर्णखोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए ।
बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेईलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनले बताए ।
म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, एक सय १७ खोप केन्द्र, ६८ गाउँघर क्लिनिक रहेका छन् ।
बालबालिकालाई पूर्णखोप लगाउनका लागि तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए ।
यसअघि वडा र पालिकास्तरमा पनि पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो ।
घोषणा अघि स्वास्थ्यकर्मीले घरदैलो गरेर खोप लगाएको नलगाएको विषयमा अध्ययन गरेका थिए ।
यस वर्ष गण्डकी प्रदेशका ११ मध्ये पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी पहिलो जिल्ला बनेको जिसस म्याग्दीका प्रमुखसमेत रहेका जिल्ला खोप समन्वय समितिका प्रमुख राजकुमार थापाले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सीताकुमारी सुन्दासले खोप कार्यक्रमले नवजात शिशुको मृत्युघर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताए ।
खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने मन्त्री सुन्दासले बताए ।
एक जनालाई पूर्णखोप प्रदान गर्न रु ४० हजार खर्च लाग्ने र म्याग्दी जिल्लाका सबै बालबालिकाको पूर्णखोप सुनिश्चितताका लागि वार्षिक रु ७० लाख ८४ हजारभन्दा बढी रकम खर्च लाग्ने गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया