गण्डकी

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

इकागज |
जेठ १६, २०८१ बुधबार १५:१७ बजे

काठमाडौँ - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठूलो दलको नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

  १४ जेठमा सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको थियो ।


सर्वोच्चका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र कुमार रेग्मीको संयुक्त इजलासले अधिकारीले लिएको विश्वासको मत बदर गर्दै रिट निवेदनकर्ता नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको थियो ।

एमाले नेता अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिँदा गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका थिए । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । 

२७ सदस्य रहेको संसद्को ठूलो दल कांग्रेस संसदीय दलका नेता पाण्डेले ५७ दिनमा फेरि मुख्यमन्त्रीमा पुनरागमन गरेका छन् । मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । 


Author

थप समाचार
x