गण्डकी

गण्डकी प्रदेश सभामा ‘खिचडी’ बहस

अनिष भट्टराई |
असार ४, २०७८ शुक्रबार १४:४५ बजे

पोखरा : गण्डकी प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन् । त्यसअघि विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरूले छलफल गरिरहेका छन् ।

छलफलमा सहभागी सांसदहरू सवाल–जवाफमा उत्रिए । सांसदहरूका सवाल–जवाफ ‘खिचडी’को केन्द्रित बढी भए । प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको सरकारलाई खिचडी संज्ञा दिए । सत्ता पक्षले खिचडीको खण्डनमै बढी समय खर्चिए । केही सांसदले खिचडी पकवानको बयानसम्म गर्न भ्याए ।  


एमाले सांसद धनञ्जय दवाडीले सत्ता प्राप्तिका लागि बनेको गठबन्धन लामो समय नटिक्ने दाबी गरे । माओवादी–कांग्रेसले आफ्नै दस्तावेज भुलेर बनेको गठबन्धन लामो समय नटिक्ने उनको दाबी थियो । ‘माओवादी र कांग्रेसले एकअर्कालाई दस्तावेजका हिसाबले मित्र शक्ति मान्दैन । माओवादीले दस्तावेजका हिसाबले कांग्रेसलाई प्रमुख दुश्मन किटान गर्छ । तपाईंहरूले त्यसले कसरी स्वीकार गर्न सक्नुहुन्छ ? यो गठबन्धन अप्राकृतिक, अराजक, सत्ताका लागि मात्रै नभए केका लागि हुन्छ ?’ उनको प्रश्न थियो । 

नीति तथा कार्यक्रममाथि छलफल गर्दा सत्तारुढ सांसदले नै सरकारलाई खिचडी सरकार बताएको दवाडीले बताए । ‘सत्ताकै सांसदले सरकारलाई खिचडी सरकार भएको बताउनुभयो । सदन सत्ता प्राप्तिका लागि मात्र होइन, लोगो लगाउनमात्रै होइन भन्ने बुझौं,’ उनले भने । अर्का सांसद राजीव पहारीले केन्द्रको रिमोट कन्ट्रोलमा चलेर प्रदेशमा गठबन्धनको सरकार बनेको बताए । गठबन्धनको सरकारलाई खिचडीको संज्ञा दिँदै सरकारको कुनै रूप पनि नभएको बताए । 

‘सरकारको रूप हेर्ने हो भने न हाँसको चाल न बकुल्लाको चाल जस्तो छ । खुर्सानीको बोट रोपेर सुन्तलाको आश गर्न सकिन्नँ,’ उनको कटाक्ष थियो । पुराणको नरसिंह जस्तो सरकार दुईरूपी भएको पहारीले बताए । ‘हेर्दा सिंह जस्तो पनि देखिने, हेर्दा मान्छे जस्तो पनि देखिने, किन सरकार बनेको भन्ने त सरकार गठनको भोलिपल्टै सुविधासम्बन्धी ऐन बनाउन लागेकैले देखियो,’ उनले भने । 

एमाले सांसद मनबहादुर गुरुङले मनाङ पुगेर मादीको निरीक्षणमा मुख्यमन्त्री जान नसकेको भन्दै आलोचना गरे । पोखराबाट १५ मिनेट टाढा रहेको मादीमा बाढीले विध्वंश निम्त्याएको तर मुख्यमन्त्रीले त्यता निरीक्षण गर्न नसकेको उनले बताए । ‘१५ मिनेटको बाटोमा पुग्न नसक्ने, मनाङ पुगेछन् । निरीक्षण गर्न गइदिनोस् म साधन स्रोतको व्यवस्था गरिदिन्छु,’ उनले भने ।  

एमाले सांसदहरूले सरकारलाई खिचडीको संज्ञा दिएपछि बोल्न आएकी कांग्रेस सांसद ओमकला गौतमले विपक्षीले खितडीको अपमान गरेको टिप्पणी गरिन् ।  ‘खिचडी भनेको के हो भन्ने बुझ्नुस् । खिचडी आवश्यकता अनुसार पाक्छ, औषधि पनि हो,’ उनले सुरुमै भनिन्, ‘एकदमै मिठो हुन्छ कि खिचडी भनेको हरेक दिन खान पाउने चिज पनि होइन, खिचडी जस्तो मिठो पाक्यको अपमान गर्नुभयो ।’ अहिलेको सरकार अपवित्र गठबन्धनको नभएको र सरकार जनताप्रति गम्भिर भएको बताइन् । 

एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले सरकारले प्रेस विज्ञप्ति जस्तो बजेट ल्याएको भन्दै आलोचना गरे । नयाँ सरकारले तयारी बिना, कर्मचारीहरूको समन्वय बिना आफूखुसी विज्ञप्ति जस्तो बजेट ल्याएको उनको आरोप थियो । प्रतिपक्षीमा बस्दा कांग्रेसले भनेका योजनाहरू १ घर १ पिसिआर, सबै जनतालाई खोपजस्ता कार्यक्रमलाई कांग्रेस आफैंले सरकारमा गएपछि भुलेको उनको भनाइ थियो । 

जनमोर्चा सांसद पियारी थापाले पुस ५ को घटनाले गर्दा पृथ्वीसुब्बाको सरकारलाई साथ दिन नसकिएको बताइन् । ‘सरकारले राम्रो काम गर्छ भन्ने आशले अहिलेको सरकारलाई हामी विश्वासको मत दिन्छौं । आफूसँग भएमात्रै ठीक भन्ने सोचबाट ग्रसित भए सही ठाउँमा पुग्न सक्दैनौं,’ उनले भनिन् । हरिबहादुर चुमानले प्रदेश सभामा दोहोरी खेलिएको र आलोचना खेप्दाखेप्दा माओवादी सांसदको छाला बाक्लो भएको बताए । ‘दोहोरीमा म जान्नँ, छाला बाक्लो भइसक्यो,’ उनको व्यंग्य थियो ।
मुख्य कामहरू पुरानो सरकारकै कामलाई अहिलेको सरकारले निरन्तरता दिने बताए । पहिलो सरकारको सत्ता सहयात्री माओवादी केन्द्र नयाँ सरकारमा पनि सहभागी भएकाले पुराना कार्यक्रमलाई निरन्तरता दिनुका साथै केही नयाँ योजना पनि ल्याइने बताए । 

आफ्नो दलले कांग्रेसलाई विपरीत शक्तिको रूपमा आफ्नो दस्तावेजमा राखेको तर त्यो एकताका लागि भएको बताए । ‘एकता गर्न लागेको भएपो दस्तावेजविरुद्ध गयो भन्ने । हामी त संघीयताको रक्षा, धर्मनिरपेक्षताको रक्षाका लागि संघर्ष गरिरहेका छांै, सडकमा सँगै गयौँ,’ चुमानले एमाले सांसद धनञ्जय दवाडीलाई उत्तर फर्काए ।  
प्रदेश सभामा मुख्यमन्त्री कुष्णचन्द्र नेपाली पोखरेलले दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि मतदान हुनेछ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x