गण्डकी

जथाभावी सडक निर्माणले बस्ती नै जोखिममा

इकागज |
असार ५, २०७८ शनिवार १३:३५ बजे

सांकेतिक तस्बिर

बेनी : जोमसोम-बेनी सडकखण्डअन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ । गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो ।

वर्षा आउँदा रातमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयबासी मिम थकालीले जानकारी दिए । उनका अनुसार पिप्ले गलेश्वरमा २२ परिवारको वसोवास रहेको छ । ‘बस्ती माथिको पाखो लस्किएको छ, गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो, एक वर्षमा गलेश्वर–पिप्ले खण्डको सडकमा सिर्जित पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसक्नु अत्यन्तै दुखदायीपूर्ण हो’, थकालीले भने । 


पिप्ले गलेश्वरका स्थानीयवासी वर्षा आउँदा वारिपट्टी रहेको बेनी नगरपालिका–९ गलेश्वरमा आश्रय लिनुपर्ने बाध्यता आएको छ । यसै बस्ती समेटिएको बेनी–जोमसोम सडक माथिबाट पहिरो खस्ने, सडक हिलाम्मे हुने समस्याले सवारी आगमन समेत प्रभावित हुँदै आएको छ । पटकपटक बस्तीमा बाढीसहितको हिलोको सास्ती स्थानीयबासीले व्यहोर्दै आएका छन् ।

यसैबीच गलेश्वरस्थित राहुघाट नदीमा निर्माणाधीन पक्की पुलको संरक्षणको लागि नदी किनारमा बनाइएको ग्याबिन जालीबाट नदीले कटान शुरु गरेको छ । स्तरीय तरिकाले ग्याबिन जालीसहितको संरक्षणको काम नगरेकाले कटान शुरु भएको र यसले बस्तीतर्फ थप नदी कटानको जोखिम बढाएको स्थानीयबासीको भनाइ छ । 


Author

थप समाचार
x