गण्डकी

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १९:५६ बजे

गण्डकी- गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए । छलफलमा सदस्यहरूले सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयन योग्य हुनुपर्ने बताएका थिए । सरकारका काम कारबाहीले प्रदेशको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिँदै सदस्यहरूले सङ्घीयताको आकर्षण भनेको नै प्रदेश भएको उल्लेख गरे । 


छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा उठेको विषयलाई आत्मसात गर्दै अघि बढ्ने बताए । नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रसङ्ग नियतवश नछुटाइएको उल्लेख गर्दै उनले चालु वर्षमा सञ्चार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने धारणा राखे । पत्रकार बीमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापनलगायतका व्यवस्थाले निरन्तरता पाउने बताउँदै उनले लामो समयदेखि रोकिएको आमसञ्चार विधेयकलाई अगाडि बढाएर पारित समेत गरेको उल्लेख गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषय प्रदेश, मुलुकको मात्र नभइ अन्तर्राष्ट्रिय विषय भएको बताउँदै उनले यहाँ अन्तरदेशीय उडानहरू हुनुपर्ने बताए । यसका लागि प्रदेशले मात्र नभइ सङ्घीय सरकारले चाहनुपर्ने बताउँदै उनले यहाँबाट जाने गन्तव्य रहेको त्यहाँको सरकारले पनि चाहनुपर्ने बताए । यसबारे पहलहरू भइरहेको र आज विहान मात्रै पनि  पोखराबाट बङ्गलादेशमा सिधा हवाई उडानका विषयमा छलफल भइरहेको बताए । 

समाजवादलाई हेर्ने दृष्टिकोणहरू फरक फरक रहेको बताउँदै उनले यो समय र स्थानअनुसार पनि फरक हुने उल्लेख गरे । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो ४ बजे बस्ने सभामुख कृष्णप्रसाद धितालले जानकारी गराए ।


Author

थप समाचार
x