गण्डकी

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

इकागज |
असार १८, २०८१ मंगलबार ९:३६ बजे

बागलुङ- अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प  भएका छन् । 


जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेको बताए। वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उनले जानकारी दिए ।

उनले भने, “अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन, अहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ ।”

यसैगरी करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ । रासस


Author

थप समाचार
x