गण्डकी

फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम

इकागज |
असार १८, २०८१ मंगलबार १४:१३ बजे

गण्डकी- आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ ।

यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त गतिमा अगाडि बढ्दा स्थानीयवासी निराश छन् । सडक अनुगमन समितिका सदस्यसमेत रहेका स्थानीय राजकुमार गुरुङले सडक निर्माणमा स्थानीय बासिन्दाको सहयोग हुँदासमेत सरकारीस्तर र निर्माण व्यवसायीका कारण ढिलासुस्ती भएको गुनासो गरे ।


'यो सडक यस क्षेत्रको समृद्धिसँग जोडिएको छ । हामीले छिटो निर्माणका लागि दबाद दिँदासमेत निर्माणकार्यले गतिलिन सकेको छैन । त्यसैले तत्काल कामलाई तीब्रता दिन हाम्रो आग्रह छ', उनले भने । 

सङ्घीय सरकारले सुरु गरेको उक्त आयोजना तीन वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल १३ दशमलव चार किलोमिटर सडक निर्माणका लागि रु ३१ करोडमा सिरुवा श्यामश्याम जेभी काठमाडौँले ठेक्का पाएको छ ।

पूर्वाधार विकास कार्यालयका कन्सल्टेण्ट इञ्जिनियर धनप्रसाद सुवेदीले एकतर्फी पक्की नालासहितको सडक तोकिएको समयमा सम्पन्न नहुँदा पटक–पटक समय थप गरिएको बताउनुभयो । 

पछिल्लोपटक २०८१ सालभित्र कार्यसम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । सम्झौताअनुसार तीन सय मिटर ढलान र सबै सडक कालोपत्र गरिने योजना छ ।

'समयमा रकम निकासा र निर्माण व्यवसायीको दृढ इच्छाशक्ति हुने हो भने आगामी एक वर्षभित्र बाटो निर्माण सम्पन्न हुनेछ । त्यसका लागि हामीले पनि दबाब दिइरहेका छौँ', सुवेदीको भनाइ छ । 


Author

थप समाचार
x