गण्डकी

बाँदर नियन्त्रण गर्न ‘मंकी पार्क’

इकागज |
असार २५, २०८१ मंगलबार ७:१६ बजे

ढोरपाटन (बागलुङ)- बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखे ।

उनले भनिन्, 'यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ ।  बाँदरले बोट नै सखाप पारिदिन थालेको छ ।  बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ ।  पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न ।' 


काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, 'पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको छ उनले बताए । पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो ।  आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ । बारीको बाली एकै छिनमा नष्ट गरिदिन्छन्, हामीहरु कता जाने भन्ने भइसक्यौँ ।'

बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन् ।  जैमिनी नगरपालिकाले यसका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ ।  योजनाले भने सार्थकता पाउन सकेको छैन । रासस


Author

थप समाचार
x