गण्डकी

चिकित्सककाे रुखाे बाेली

अस्पताल चहार्दा-चहार्दै बिरामीको मृत्यु

अनिष भट्टराई |
मंसिर १२, २०७७ शुक्रबार १३:१० बजे

पोखरा : गत साता पोखरामा स्याङ्जाकी धनमाया गुरुङको अस्पतालमा बेड नपाएर मृत्यु भयो । कोभिड-१९ पोजेटिभ नरहे पनि उनलाई उपचार गर्न कुनै अस्पतालले मानेनन् । पोखराका नाम चलेका अस्पताल चहार्दा पनि बेड नपाएर उनले ज्‍यान गुमाइन । 

धनमाया गुरुङ मात्रै होइन पोखराकै अर्का एकजनाले पनि उपचार नपाएरै ज्यान गुमाए । अन्नपूर्ण गाउँपालिका काँडेका ४८ वर्षीय राजेश कार्कीलाई ४ अस्पताल लैजाँदा पनि कसैले उपचार गर्न नमानेपछि मृत्यु भयो ।


बुधबार दिउँसो राजेश नवलपुरबाट ट्रक चलाएर पोखरा आएका थिए । उनको स्वास्थ्य अवस्था ठीक थियो । परिवारका सदस्यका अनुसार उनमा कुनै दीर्घरोग थिएन । तर बुधबार ४ बजेतिर उनलाई गाह्रो भएको महसुस भयो । उनले शरीरका अंग चलाउन सकेनन् । 

थकाइले होला भनेर परिवारले उनलाई घरको तल्लो कोठामा सुताए । ४ बजे सुतेका राजेशलाई हेर्न ७ बजे उनकी छोरी पुग्दा राजेशको अवस्था नाजुक थियो । सास फेर्न गाह्रो भयो भनेपछि उनका परिवार र छिमेकीले ट्याक्सीमा राजेशलाई पोखरा झारे । 

‘आरामसँगै ट्रक चलाएर जानुभएको रहेछ, कोरोना भएको भए केही लक्षण हुन्थ्यो,’ मृतककी दिदीसासु अनीता गुरुङले भनिन्, ‘कोरोना होइन भनेर नै सबै मिलेर पोखरा ल्यायौं ।’ तर पोखरा ल्याइसकेपछि आफूहरुले झनै सास्ती खेप्नुपरेको राजेशका साला सुजन गुरुङले सुनाए । 

उनीहरुले राजेशलाई सुरुमा मेट्रोसिटी अस्पताल लगे । ८ बजे उनीहरुले मेट्रोसिटी पु-याए । सुजनका अनुसार मेट्रोसिटीले एकपटक पनि बिरामीलाई नहेरी फर्काइदियो । कारण देखायो– बेडको अभाव । मेट्रोसिटीले बिरामी नलिएपछि लेकसिटी अस्पताल लगे । लेकसिटीमा पनि त्यस्तै जवाफ पाए ।

लेकसिटीपछि उनीहरुले फिस्टेल अस्पताल पु-याए । फिस्टेलले इमर्जेन्सीमा राख्यो । तर जाँच्दै नजाँची अर्को अस्पताल लैजान भन्यो । ‘फिस्टेलले जाँच नै नगरी कोरोना हो, लैजा भनिदियो । नजाँची हचुवामा भनेर हुन्छ ?’ सुजनले प्रश्न गरे । ‘अर्को अस्पतालमा लैजा भनेर बिरामीलाई छाडेर हुन्छ र ? कहाँ लैजाने के गर्ने भन्ने पनि बताइदिएको भए पो हुन्थ्यो,’ सुजनकी दिदी गीताले भनिन् । 

फिस्टेलले नराख्ने भनेपछि आफन्तले राजेशलाई मनिपाल लगे । मनिपालमा झन् राजेश  र आफन्तले कन्तबिजोग खेप्नुपर्‍यो । अरु अस्पतालमा चिकित्सकको दादागिरी देखेका उनीहरुलाई मनिपालका सुरक्षा गार्डले समेत हुर्मत लिए । 

अस्पताल परिसरमा लगेपछि उनीहरुले केही बेर बाहिर नै बस्नुपर्‍यो । महिला डाक्टर उनीहरुसँग आएर बिरामीबारे सोधिन् । बिरामीलाई सास फेर्न गाह्रो भएको सुनाउँदा डाक्टरले ‘अब तिमीहरु सबैलाई त्यस्तै हुन्छ, सबैको जाँच गर्ने ?’ भन्ने प्रतिक्रिया दिएको गीताले बताइन् । ‘सास फेर्न सक्नुभएन भन्दा सबैलाई गाह्रो हुन्छ भन्दै गाली गरिन्, स्वास्थयकर्मीले त्यस्तो गर्न सुहाउँछ ?’ उनले भनिन् । 

मनिपालले सुरुमा बिरामीलाई राख्न मानेन । पछि सुजनले नै मनिपालका १ जना चिकित्सकलाई फोन गरेर बिलौना गरेपछि मनिपालले राख्न मान्यो । बिरामी राख्न माने पनि मनिपालले बिरामीलाई सहयोग नगरेको सुजन बताउँछन् । उनले भने, ‘बिरामीलाई स्ट्रेचरमा हालेर हामीले नै वार्डसम्म लग्यौं, सहयोगी कर्मचारी हेरेरमात्रै बसिरहे ।’

वार्डमा लगेपछि नर्सले थर्मोमिटर लगाइन्, अक्सिजन लगाइदिन पनि आफन्तलाई नै भने । जानीनजानी सुजनले लगाए । त्यसपछि डाक्टरले भनेका वाक्यले आफन्तको मन चिरियो । डाक्टरले बिरामीकै अगाडि बिरामी नबाच्ने र उपचार सम्भव नभएको बताइदिए । ‘डाक्टरले त बचाउन खोज्ने हो, बिरामीकै अगाडि बिरामी मर्छ, भर्ना नगर पो भने,’ गीताले चर्किँदै भनिन् । 

३ जना डाक्टरले आधा घन्टा जति भेन्टिलेटरमा उपचार गरे । भेन्टिलेटरमै राजेशले सास छोडे । मृत्युपछि राजेशलाई शवगृहमा लैजान पनि अस्पतालका कर्मचारीले सहयोग नगरेको गीताको गुनासो छ । 

छेउमा मृतककी छोरी भक्कानिरहेकी थिइन् । छोरी हेर्दै गीताले भनिन्, ‘बुबाको लास उठाएर लैजाँदा कस्तो भयो होला बिचरीलाई !’ अस्पतालले गर्दा नै उनको मृत्यु भएको सुजन आरोप लगाउँछन् । ‘जिउँदो हुँदै अस्पतालको बेडमा राखेको बिरामीलाई नछुनेले के उपचार गरे होलान् ?’ सुजनले भने । 

के भन्छन् अस्पताल प्रमुखहरु ?

नेपाल सरकारले सबै अस्पतालहरुलाई ३३ प्रतिशत बेड कोभिडका लागि छुट्याउन भनेको छ । तर पोखराको मेट्रोसिटी अस्पतालले कोरोनाका बिरामी लिँदैनौं भनेर फर्काउने गरेको छ ।

अस्पताल प्रमुख भरत खत्री भन्छन्, ‘हाम्रा फिजिसियन मार्फा जानुभएको छ, उहाँ बिना आइसीयू र भेन्टिलेटर नचल्ने भएकाले फिर्ता ग-यौं ।’ फिस्टेलका सञ्चालक अशोक पालिखेले राजेशमा कोरोनाका लक्षण भएकाले अर्को अस्पतालमा जान सुझाएको बताए । फिस्टेलमा कोरोनाका लागि छुट्याइएको आइसीयू भरिएकाले राख्न नसकिएको उनको तर्क छ । ‘डाक्टर सुरजले जाँच गर्नुभएको हो, अक्सिजन कम थियो, ज्वरो आएको रहेछ,’ उनले भने । 

मनिपालका निर्देशक कृष्ण वाहिगाउकर आफ्नो अस्पतालमा कुनै ढिलासुस्ती र बिरामीमाथि दुव्र्यवहार भएको दाबी गर्छन् । अस्पतालमा सोधपुछ गर्दा त्यस्तो पाइए स्वास्थ्यकर्मीलाई कारबाही गर्ने उनले बताए ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x