प्रतिपक्षीसँग मुख्यमन्त्रीको गुनासो, मन्त्री र कर्मचारीले कामै गरेनन्
पोखरा : पोखरामा अस्पताले उपचार गर्न नमान्दा एक साताको अन्तरालमा दुई जनाले ज्यान गुमाएका छन् । अघिल्लो साता स्याङ्जाकी धनमाया गुरुङले पोखरामा ६ अस्पताल चहार्दासमेत बेड नपाएर ज्यान गुमाइन् । बुधबार राति कास्की अन्नपूर्ण गाउँपालिकाका राजेश कार्की अस्पतालमा उपचार नपाएर अस्ताए ।
यसरी उपचार नपाएर ज्यान गुमाउनेको संख्या बढिरहँदा पनि गण्डकी प्रदेश सरकारले व्यवस्थापन गर्न सकिरहेको छैन । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने आफ्नै सरकारका मन्त्री र कर्मचारीलाई दोष दिएर उम्कन खोज्छन् । कर्मचारीको कमजोरीका कारण यस्ता घटना भएको उनकाे दाबी छ।
सरकारको काम प्रभावकारी नभएको भन्दै बिहीबार मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराउन पुगेको प्रतिपक्षी नेपाली कांग्रेसको टोलीसँग मुख्यमन्त्री गुरुङले उल्टै गुनासो गरे । सरकारकै केही मन्त्री र कर्मचारीका कारण समस्या देखिएको मुख्यमन्त्री गुरुङको भनाइ थियो । सामाजिक विकास मन्त्री नरदेवी पुनले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको गुरुङले गुनासाे गरे । टोलीसँग मुख्यमन्त्री गुरुङले प्रदेश स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्माको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए ।
मुख्यमन्त्रीकाे ध्यानाकर्षण गराउन दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहित मुख्य सचेतक मणिभद्र शर्मा कँडेल, सचेतक ओमकला गौतम गएका थिए । सांसदहरू कुमार खड्का, बिन्दुकुमार थापा, ललितकला गुरुङ, भावगतप्रकाश मल्ल, कोपिला बोहोरा प्रतिनिधिमण्डमा सहभागी थिए । टाेलीसँग मुख्यमन्त्री गुरुङले भने, ‘मन्त्रालयले नेतृत्व गर्न सकेन, परिणाम कसरी आउँछ ? स्वास्थ्य निर्देशनालय पनि नेतृत्वदायी हुन सकेन ।’
मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन गएको टोलीसँग मुख्यमन्त्रीले उल्टै गुनासो पोखेको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए । ‘हामी प्रदेशको ध्यान पुगेन भनेर गुनासो लिएर गएका थियौं, हाम्रो भन्दा मुख्यमन्त्रीकै गुनासो बढी सुनियो,’ नेता नेपालीले भने ।
अघिल्लो वर्षनै आइसीयू स्थापनाका बजेट विनियोजन गरिएकाे भए पनि मन्त्रालय सक्रिय नबनेको भन्दै मुख्यमन्त्री गुरुङले आलोचना गरे । ‘सरकारले अघिल्लो आवमै बजेट दिएको हो, मन्त्रालयले सक्रियता देखाउन सकेन । समयमै जिल्ला अस्पतालहरुमा आइसीयू सञ्चालन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो ।’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश आपूर्ति केन्द्रलाई दिएको भए काम हुने रहेछ, जिल्लामै रकम पठाइदिँदा ढिला भयो ।’
११ वटै जिल्ला अस्पतालमा आइसीयू सञ्चालन गर्न प्रदेशले पैसा पठाउँदा पनि कर्मचारीले गर्दा काम हुन नसकेकाे गुनासाे उनले गरे । ‘कर्मचारीले सामान किन्नै ढिला गरे, किनेपछि अझै आधा सामान आएन भन्छन्,’ मुख्यमन्त्रीले प्रतिपक्षी सांसदसँग सुनाए, ‘अहिले फेरि जनशक्ति पुगेन भन्दैछन् ।’
तर सामाजिक विकास मन्त्री नरदेवी पुन भने राम्रो काम गरे पनि जस नपाएको गुनासो गरिन् । मन्त्रालयले तन मन लगाएर काम गरिरहेको उनको दाबी छ ।
मुख्यमन्त्रीले कांग्रेसका गुनासो भन्दा आफ्नो गुनासो बढी पोखेको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए । ‘हामी प्रदेशको ध्यान पुगेन भनेर गुनासो लिएर आएका थियौं, हाम्रो भन्दा मुख्यमन्त्रीकै गुनासो बढी सुनियो,’ नेता नेपालीले भने । नेपालीले सरकारी अस्पतालको सेवा थप चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री गुरुङलाई सुझाए ।
कांग्रेका मुख्य सचेतक मणिभद्र शर्मा कँडेलले अस्पतालका कर्मचारीले मुख्यमन्त्रीलाई गलत रिर्पोटिङ गरेको बताए । उनले सर्वदलीय टोली बनाएर अनुगमन गर्नुपर्ने प्रस्ताव राखे ।
प्रदेशसभाको सार्वजनिक लेखा समितिका सभापति पनि रहेका कुमार खड्काले प्रदेश सरकारले ३१ वटा भेन्टिलेटरका लागि बजेट विनियोजन गरे पनि अहिलेसम्म १३ वटा मात्र खरिद भएका भन्दै बाँकी खरिदका लागि सरकारको ध्यानाकर्षण गराए । ‘प्रत्येक निजी अस्पतालमा प्रदेश सरकारले एउटा काउन्टर राखेर सेवा उपलब्ध गराउँदा राम्रो हुन्छ ।’ खड्काको भनाइ थियो । पुस मसान्तसम्म द्रुत गतिमा पीसीआर टेष्ट बढाएर कम्तीमा डेढ लाख पु¥याउन पनि कांग्रेसको माग छ ।
प्रमुख प्रतिपक्षी दलबाट आएका सुझाव कार्यान्वयनका लागि सरकार संवेदनशील रहेको र कोरोना नियन्त्रणमा थप व्यवस्थित भएर सरकार लाग्ने मुख्यमन्त्रीको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया