गण्डकी

पोखरा महानगरले हेलम्बु र मेलम्चीलाई सहयोग गर्ने

अनिष भट्टराई |
असार १०, २०७८ बिहीबार १७:५४ बजे

पोखरा : बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका दुई पालिका (मेलम्ची र हेलम्बु)लाई पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उपमेयर मञ्जुदेवी गुरुङले दुई पालिकालाई १०/१० लाख रुपैयाँ सहयोग गर्ने जनाइन् । 

महानगरले आज आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ । उपमेयर मञ्जुदेवी गुरुङले महानगरको नवौं नगरसभामा बिहीबार ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षको बजेट भन्दा ८ करोड बढाएर आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरिएको हो । चालू आर्थिक वर्षको बजेट आकार ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको थियो । 


अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत संघ सरकारबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात ४१ प्रतिशत, प्रदेश सरकारबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत रकम महानगरले प्राप्त गर्नेछ । संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत रकम प्राप्त हुने बजेटमा उल्लेख छ । शिक्षामा १ अर्ब ४९ करोड, प्रशासनिकतर्फ ५२ करोड ५२ लाख, पर्यटन र वातावरणमा २६ करोड ६७ लाख, स्वास्थ्यमा २१ करोड ५० लाख, कृषिमा ४ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । 

बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडकका लागि २४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । यस सडक निर्माणको लागि १ अर्ब ५३ करोड रुपैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको छ । प्रस्तावित कनेक्टिङ सडकतर्फ गरी १ अर्ब २० करोड बजेट रुपैयाँ विनियोजन गरिएको छ ।  

आगामी आर्थिक वर्षमा समग्रमा भवन निर्माणतर्फ ३० करोड बजेट प्रस्ताव गरिएको उनले जनाइन् । खानेपानी आयोजनाहरुको कार्यान्वयनको लागि ११ करोड ६३ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । महानगरपालिकामा पूर्वाधार निर्माणको गुणस्तर परीक्षणको लागि स्थापना गरिएको प्रयोगशालाको स्तरोन्नतिका लागि १ करोड बजेट विनियोजन गरिएको उपमेयर गुरुङले जानकारी दिइन् । निर्माणाधीन पोखरा विमानास्थलको स्यानिटरी ल्यान्डफिल निर्माणका लागि ८ करोड रुपैयाँ विनियोजन भएको छ । 

कोभिड–१९ नियन्त्रण र प्रकोप व्यवस्थापन कोषमा २ करोड ५० लाख विनियोजन गरिने गुरुङले बताइन् । उनले भनिन्, ‘कोभिड–१९ नियन्त्रण, तथा अन्य प्रकोपहरु पश्चात राहत, उद्दार र मर्मत संभारको लागि परिचालन गर्ने गरिएको प्रकोप व्यवस्थापन कोषमा रु.२ करोड ५० लाख करोड विनियोजन गर्ने प्रस्ताव गरेको छु ।’

पोखराको फेवाताल वरिपरि पदमार्ग निर्माण गर्न १ करोड ५० लाख विनियोजन भएको जनाइएको छ । उपमेयर गुरुङका अनुसार आगामी वर्ष पोखराको ‘पर्यटन गुरुयोजना’ तर्जुमा गरिनेछ । पर्यटन विकासलाई थप प्राथमिकता दिन महानगरपालिकामा पर्यटन शाखा स्थापना गरिने उनले बताइन् । पर्यटन बसपार्क तथा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन सूचना केन्द्र स्थापनाका लागि २० लाख विनियोजन गरिएको छ । 

पोखराका सात ताल जोड्ने गरी तयार पारिएको साइक ट्रेलको प्रवद्र्धन तथा विकासको लागि रु. ५० लाख बजेट गरिएको गुरुङले बताइन् । बसुन्धरा र कामागाने पार्कमा थप पूर्वाधार निर्माण गर्न १ करोड बजेट विनियोजन भएको छ । निजी क्षेत्रको सहकार्यमा पोखरा टावरको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न १० लाख विनियोजन गरिएको छ । उपमेयर गुरुङका अनुसार पोखरा ४ को उपयुक्त स्थानमा ‘कोसेली घर’ निर्माण गरिनेछ ।

संघ सरकारले खोप खरिदको अधिकार स्थानीय तहलाई नदिएपनि महानगर खोप खरिद गर्नुपरे तयार अवस्थामा रहेको उपमेयर गुरुङले बताइन् । ५० हजार खोप खरिदको प्रबन्ध गर्न सक्ने गरी तयारी गरिएको उनको दाबी छ । आइसोलेसन, पिसिआर नमूना संकलन, कोभिड अस्पतालको स्तरउन्नति तथा संचालनका लागि ३ करोड विनियोजन गरिएको उनले बताइन् । कोभिडको कारण रोगजारी गुमाएकाहरूलाई लक्षित कार्यक्रम सञ्चालन गर्न कृषि र सामाजिक विकास क्षेत्रबाट २५ लाख प्रस्ताव गरिएको छ । एम्बुलेन्स स्टेसन स्थापनाको लागि १ करोड बजेट प्रस्ताव गरिएको गुरुङले बताइन् । 

गण्डकी बहुप्राविधिक शिक्षालय भवन निर्माणको लागि विशेष अनुदान स्वरुप संघीय सरकारबाट प्राप्त अनुदानसहित ४ करोड बजेट विनियोजन गरिएको छ । भवन निर्माणको लागि १६ करोडको लागत अनुमान तयार भएकोले बहुवर्षीय योजनाको रुपमा भवन निर्माण आरम्भ गरिने उपमेयर गुरुङले जानकारी दिइन् । ‘डिजिटल पोखरा’ अभियान को लागि रु. १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

कृषितर्फ सानासिँचाइ समेतगरी ४ करोड ८० लाख बजेट विनियोजन भएको जनाइएको छ । मानव सेवा आश्रमको संचालन खर्चको लागि २ लाख अनुदान व्यवस्था महानगरले गर्ने भएको छ । बाढी र पहिरोबाट प्रभावित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको विपदमा हातेमालो गर्नका लागि भन्दै १०/१० लाख बजेट सहयोग गर्ने भएको छ । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x