Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

गण्डकी

जीविकोपार्जनसँग पर्यटनलाई जोड्न तनहुँमा चियाखेती

इकागज |
साउन ३२, २०८१ शुक्रबार ७:५८ बजे

दमौली (तनहुँ)- जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । 

ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय बेर्ना सारेको छ ।


ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार यो वर्ष परीक्षणका रुपमा रोपिएका बिरुवाबाट अपेक्षाअनुसार उत्पादन भएमा भविष्यमा त्यसलाई विस्तार गरिनेछ । हाल दुवुङकोटको एक सय रोपनी जग्गामध्ये १२ रोपनीमा हाल बिरुवा लगाइएको हो । 

स्थानीयवासीलाई रोजगारीसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परीक्षणका रुपमा चियाखेती गरिएको उनले बताए । चिया बगानका माध्यमबाट दुवुङकोटलाई पर्यटकीयस्थलका रुपमा पनि  विकास गर्न सकिने अध्यक्ष श्रेष्ठ बताउँछन् । 

ऋषिङ गाउँपालिका–३ का वडाध्यक्ष भीमबहादुर थापा दुवुङकोटमा ‘भ्यूटावर’ पनि रहेकाले यो ठाउँ आन्तरिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने बताउँछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र कृषि विकास शाखाको संयुक्त कार्यक्रमबमोजिम आँबुखैरेनीको बतासे डाँडामा चिया बगान बनाउने प्रयास भएको कृषि विकास शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनले भने, “यहाँको हावापानी चिया बगानका लागि उपयुक्त भएकाले परीक्षणको रुपमा पहिलोपटक चियाका बिरुवा रोपिएको हो ।” रासस


Author

थप समाचार
x