Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

गण्डकी

तनहुँमा डेंगी संक्रमित एक हजार नाघे

इकागज |
भदौ १, २०८१ शनिबार १८:३९ बजे

दमौली (तनहुँ)- तनहुँमा डेंगी संक्रमितको सङ्ख्या एक हजार नाघेको छ । यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले पछिल्लो दुई दिनमा मात्रै यहाँ एक सय आठ जनामा संक्रमण देखिएको र कुल संक्रमितमध्ये आठ सय १३ जना आँबुखैरेनी गाउँपालिकामा रहेका जानकारी दिए । यस्तै व्यास नगरपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा एक सय २०, भिमाद नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा सात र बन्दीपुर गाउँपालिकामा ५१ जनामा डेंगी संक्रमण पुष्टि भएको उनले बताए ।


डेंगी संक्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएको छ । आँबुखैरेनी गाउँपालिका–३ का विभिन्न टोलमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजी गरी नष्ट गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले डेंगी संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । यहाँ आँबुखैरेनी अस्पतालले लक्षित वर्गलाई डेंगी संक्रमणमा निःशुल्क उपचार गर्ने निर्णय गरेकाले समयमै स्वास्थ्य परीक्षण गराउन पनि उनले आग्रह गरे । 'गरिब तथा आर्थिक रूपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता, सहाराविहीन अशक्त एवं अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा व्यहोरिने निर्णय भएको छ,' अध्यक्ष चुमानले भने । 


Author

थप समाचार
x