गण्डकी

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट

इकागज |
भदौ २४, २०८१ सोमबार ६:२५ बजे

पर्वत- दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट संरक्षणको पर्खाइमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधार अभावमा ओझेलमा परेको हो । 

नेपाल एकीकरणपूर्व चौबीसे राज्यकालमा शक्तिशाली मानिने लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालका रूपमा प्रयोग हुने सामग्री रहेका छन् । ती ऐतिहासिक तथा पुरातात्विक सामग्री संरक्षण अभावमा हराउने खतरा बढेको छ । 


 भुरे राजाको दरबार रहेको लुमरेङकोट बाइसे चौबीसेकालमा शक्तिशाली मानिन्थ्यो । यहाँ अहिले मन्दिर र सत्तल रहेको छ । सत्तलको एउटा दराजमा युद्धमा प्रयोग भएका दरबार, खुँडा, गैँडाको छालाबाट बनेका ढाल रहेका छन् । तर यी सामग्री रङरोगन गरिएकाले तिनको ऐतिहासिकता हराएको छ ।

कुनै–कुनै हतियारमा सन् १७३४ एडी लेखेको समेत भेटिएको स्थानीय अगुवा धनबहादुर थापाले बताए । पुरातात्विक महत्त्व बोकेका यस्ता सामग्री हराउन थालेपछि स्थानीयस्तरबाट संरक्षणको प्रयास थालिएको उनको भनाइ छ । 

तत्कालीन समयमा लुमरेङकोटका राजा चन्द्र सिंह निकै पराक्रमी थिए । उनका छोरा चतुर सिंह र भानुप्रताप सिंह रहेका बेला कुनै राज्यले आक्रमण गरेर नियन्त्रणमा लिन नसकेको इतिहास छ । पैंयुकोटे राजाले जासुसी गरेर चन्द्र सिंहका छोरा विहादीको फाँटमा रोपाइँ गर्न गएको मौकामा लुमरेङकोटमा आक्रमण गरेका थिए । 

आक्रमणमा परेर चन्द्रसिंहको कोटमै मृत्यु भएको थियो भने एकजना छोराको बीच भागमा र अर्का एक जनाको रोपाइँ गर्ने स्थानमा मृत्यु भएको इतिहास भएको थापाले जानकारी दिए । रोपाइँका बेला बाजा बजाउन प्रयोग भएको दमाहा स्थानीय दमाई जातिको घरमा अझै भेटिन्छन् । त्यसपछि लुमरेङकोटको अस्तित्व समाप्त भएर पैँयुकोटमा सरेको थियो । 

पर्वतको बिहादी, पैँयु गाउँपालिकाको अग्लो भूभागमा रहेको कोटबाट टाढा टाढाका दृश्य हेर्न सकिन्छ । यहाँ वनभोज खान विभिन्न ठाउँबाट मानिसहरु आउने गर्छन् । गत वर्ष यहाँबाट प्याराग्लाइडिङको सफल परीक्षणसमेत गरिएको छ । यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताए । वनभोज र प्याराग्लाइडिङको गन्तव्य बनाउन गाउँपालिकाले प्रयास गरिरहेको उनले बताए । 

यहाँ रहेका ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीको संरक्षण गर्न पालिकाले काम गरिरहेको जनाएको छ । यसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको अध्यक्ष गुरुङको भनाइ छ । 


Author

थप समाचार
x