गण्डकी

पहिरोले तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध

इकागज |
असोज १२, २०८१ शनिबार १०:३४ बजे

तनहुँ- दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरो जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् । पहिरोले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । 

पृथ्वीराजमार्ग र भित्री सडकखण्ड अन्तर्गतका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । 


उनका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका–६ मौरीओडार, भानु नगरपालिका–१ भन्सारमा सडक अवरुद्ध भएको छ । उनका अनुसार सबै ठाउँमा पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ । उनले भने, “पानी परिरहेकाले पहिरो पन्छाएर समस्या भएको छ ।” 

यस्तै व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ । मुग्लिन-पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको हो । 

कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x