गण्डकी

देवघाटधाम बाढीको जोखिममा

इकागज |
असोज १३, २०८१ आइतबार ६:५६ बजे

तनहुँ- बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ । 

त्रिशूली र कालीगण्डकी नदीमा आएको  बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचना जोखिममा परेका हुन् । वर्षाका कारण देवघाट गाउँपालिका हुँदै बग्ने त्रिशूली र कालीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुगेको छ ।


कालीगण्डकीमा आएको बाढीले देवघाट गाउँपालिका–५ साँढेबगरस्थित महादेव आधारभूत विद्यालय डुबानमा परेको प्रधानाध्यापक शिवहरि वाग्लेले जानकारी दिए । बाढीले विद्यालय भवन डुबाएका कारण विद्यालयको सबै काजगात नष्ट भएको उनले बताए । 

यस्तै त्रिशूलीमा आएको बाढीले चितवन र देवघाट जोड्ने दासढुङ्गाको पुल जोखिममा परेको छ । त्रिशूलीमा पानीको सतह अत्यधिक बढेपछि शनिबार बाढी पुल नाघेर बगेको थियो । केही घण्टा उक्त पुलमा आवतजावत समेत बन्द गरिएको थियो । 

बाढीका कारण देवघाट गाउँपालिका–५ र चितवनको १७ किलोस्थित बगन्दी जाने झोलुङ्गे पुल जोखिममा परेको छ । त्रिशूली नदीको बाढीले गलेश्वर आश्रम जोखिममा छ । गलेश्वर आश्रमको नदीतर्फको केही भाग बाढीले बगाएको छ ।

त्रिशूली र कालीगण्डकीमा आएको बाढीले देवघाटस्थित वेणी सङ्गमा रहेका मठमन्दिर, कुटी र चितवनतर्फ रहेका धर्मशाला डुबानमा परेका देवघाट गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिए । रासस


Author

थप समाचार
x