गण्डकी

एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरो पन्छाइँदै

इकागज |
असोज १९, २०८१ शनिबार ७:२ बजे

दमौली (तनहुँ)- एक सातादेखि पहिरोले अवरुद्ध भएको तनहुँको बुद्धसिंह मार्गमा पहिरो पन्छाउन सुरु गरिएको छ । पृथ्वीराजमार्गको वैकल्पिक खण्डका रुपमा रहेको बुद्धसिंह मार्गमा गत बिहीबारको वर्षासँगै पहिरो आउँदा विभिन्न ठाउँ अवरुद्ध भएको थियो  अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम सुरु गरिएको हो ।

हालसम्म व्यास नगरपालिका–१४ मास्दीघाटबाट बन्दीपुर गाउँपालिका–६ खहरेसम्मको पहिरो पन्छाइएको स्थानीय अगुवा सिद्धान्त थापा मगरले जानकारी दिए । बन्दीपुरस्थित नाल्दीघाटमा ठूलो पहिरो गएको र सानो जेसिभी भएकाले पहिरो पन्छाउन समस्या भएको उनले बताए । 


“नाल्दीघाटबाट साराङघाटसम्म सडक खुलाउन बाँकी छ । ठूलो क्षमताको जेसिभी ल्याएर बाँकी खण्ड खुलाउने प्रयास गरिरहेका छौँ”, मगरले भने, “यो विपद्को घडीमा स्थानीय सरकार र पूर्वाधार कार्यालयले संवेदनशील भई सहकार्य र समन्वय गर्नुपर्छ ।”

दसैँका बेला सडक अवरुद्ध हुँदा यहाँका जनताले सास्ती खेपेका छन् । “ठाउँठाउँमा गएको पहिरोले हिँड्डुल गर्न समस्या भएको छ । कोही बिरामी भयो भने स्वास्थ्य संस्थासम्म लैजान सक्ने अवस्था छैन । दसैँका लागि किनमेल गर्न जाने सर्वसाधारणलाई सास्ती भएको छ”, उनले भने ।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त सडकलाई लिने गरिएको छ । 

उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात् बाटो अझ छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्दछ । रासस


Author

थप समाचार
x