गण्डकी

जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा  खर्च

इकागज |
असोज २९, २०८१ मंगलबार १६:४२ बजे

तनहुँ : बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् । ​

वि.सं २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । “हामीले कार्यपालिकाबाट निर्णय गरेका छैनौँ,” उहाँले भन्नुभयो, “निर्णय नगरे पनि हामीले आजसम्म कुनै भत्ता लिएका छैनौँ ।” एक वर्षमा बैठक भत्तामा  रु १८ लाख खर्च  हुने बन्दीपुर–१ का वडाध्यक्ष समेत रहनुभएका उहाँले बताउनुभयो । 


त्यसैगरी, अवलोकन भ्रमण बापत एक वर्षमा खर्च गरिने रु १५ लाखसमेत विकास निर्माणमा उपयोग भएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयो । “ जनप्रतिनिधिका लागि भ्रमण भत्ता बापत छुट्याइएको रु ६ लाख खर्च भएको छैन”, उहाँले भन्नुभयो, “विकास–निर्माणका काममा भत्ता रकमबाट ठूलो सहयोग मिलेको छ ।” ​

त्यसैगरी, बन्दीपुर अस्पताल मातहत रहनेगरी डुम्रेबजारमा बहिरङ्ग सेवा सञ्चालनको तयारी भएको छ । अस्पताललाई असर नपर्ने गरी वडा नं १, ४ र ५ का वडाबासीलाई लक्षित गरी सेवा विस्तार हुन लागेको हो । उपकरण, औषधिलगायत सामग्री खरिदमा रु ४० लाख खर्च भइसकेको बन्दीपुर–१ का वडाध्यक्ष समेत रहनुभएका श्रेष्ठले बताउनुभयो । 

स्वास्थ्यकर्मीको व्यवस्थापन हुनेबित्तिकै सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । त्यसबाट गोरखाको पालुङटार, भानु, आँबुखैरेनी र व्यासका केही वडाका बासिन्दा लाभान्वित हुनेछन् ।


Author

थप समाचार
x