गण्डकी

मध्यपहाडी लोकमार्ग : बागलुङ र पर्वतमा बन्दैछ पाँच पुल

इकागज |
मंसिर १३, २०८१ बिहीबार १३:५४ बजे

ढोरपाटन (बागलुङ)- मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा एकै पटक पाँच वटा पुल निर्माण सुरु गरिएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा चार वटा पुल निर्माण थालिएको हो । 

मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण सुरु भइसकेको छभने मोदीखोलामा दुई वटा पुलको काम यही मङ्सिरभित्र सुरु हुने भएको छ ।


पातीखोलामा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको लोकमार्ग कार्यालय पर्वतकी सव–इन्जिनियर अस्मिता भट्टराइले जानकारी दिए ।

काठेखोला, पातीखोला र मोदीखोलामा पुल बनेर यातायात सञ्चालन गरिए पनि लोकमार्ग फराकिलो बनाएपछि पुललाई थप चौडा बनाइने उनको भनाइ छ । उहाँका अनुसार काठेखोला, डिमुवा सुन्दरेखोला र मोदीखोलामा एक/एक र पातीखोला दुई वटा पुल निर्माण गर्न लागिएको हो ।

सव–इन्जिनियर भट्टराईले भने, “सुन्दरे खोलामा अहिलेसम्म पुल बनेकै थिएन, यहाँ आवश्यक देखिएको हुँदा पहिलो पटक पुल बनाउने भएका हौँ, अन्य ठाउँमा वर्षौँ अगाडि पुल बनेका थिए, ती पुल साँघुरो र जीर्ण बन्दै गएको हुँदा त्यस स्थानमा दोहोरो गाडी ओहोरदोहोर गर्न सक्ने गरी पुल निर्माण थालिएको हो ।”

पाँच वटै पुल निर्माणको जिम्मा लुम्बिनी/प्राकृतिक जेभीले पाएको छ । डिजाइन गरेर काम सुरु भएको पुलको निमार्ण आगामी दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । रु ४४ करोड १५ लाख ३५ हजारमा ती पाँच पुल निर्माण हुने छन् । रासस 


Author

थप समाचार
x