गण्डकी

जो सुन्निएको शरीर लिएर विद्यालय पुग्छन्

इकागज |
मंसिर २३, २०८१ आइतबार १३:४७ बजे

सांकेतिक तस्बिर

बलेवा (बागलुङ)- जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत २० वर्षीय महेन्द्र विक अहिले दुखेको र सुनिएको शरीर लिएर विद्यालय आउने गर्छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचारबाट बञ्चित उनी पढ्ने रहर पूरा गर्न सुनिएको शरीर लिएर विद्यालय पुग्छन् ।

जन्मेको तीन महिनामा उनी बिरामी परे । शरीरमा साना गिर्खा देखिए पनि आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचार नगराएका विक बताउँछन् । विस्तारै उनको शरीरका गिर्खा बढ्दै गए । घाँटी, पेट, छाती, खुट्टा र हातमासमेत गिर्खा बढ्दै गएपछि असहज बन्दै गएको उनी बताउँछन् ।


विक अहिले कक्षा ६ मा पढ्छन् । शरीरका गिर्खा बढ्दै गएपछि शरीर दुख्न र सुनिन थालेको भन्दै आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि जान नसकेको बताउँछन् । गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा उनको शरीरको सामान्य परीक्षण भएको थियो । शरीरमा देखिएका गिर्खा क्यान्सर हुनसक्ने आशङ्का स्वास्थ्यकर्मीले गरेका छन् ।

विद्यालयका शिक्षकले उनको उपचारका लागि सहयोगी दाताको खोजी भइरहेको विद्यालयका सहायक प्रधानाध्यापक डिल्लीराज सापकोटा जानकारी दिन्छन् । बाबु मनबहादुर र आमा तीर्थकुमारी ज्याला मजदुरी गर्छन् । खानलाउन नपुग्ने भएपछि उनीहरूले उपचारमा खर्च गर्नसक्ने अवस्था नरहेको उनी बताउँछन् ।

“आमाबाबुले केही गर्न सक्नुहुँदैन, विद्यालय आए पनि शरीर दुख्ने गरेकाले महेन्द्र रूने, कराउने गर्छन्”, सहायक प्रअ सापकोटा भन्छन् “सहयोग जुटाएर उपचार गर्न पठाउने योजना छ । दाताको खोजी गरिरहेका छौँ ।” भेटेका सबैलाई महेन्द्रको दुःख सुनाउने गरेको बताउँछन् ।

“महेन्द्रको घाँटी सुनिएर डरलाग्दो भइसकेको छ । उहाँ खान र अन्य काम गर्नका लागि निहुरिन पनि सक्नुहुन्न । विद्यालय आए पनि पढ्न सक्नुभएको छैन् । समयमा उपचार नगरे उहाँको जीवनमा समस्या आउने देखिन्छ”, सहायक प्रअ सापकोटा भन्छन् ।

निसीखोला–६ का वडाध्यक्ष हेमबहादुर बुढा बालकको उपचारका लागि सहयोगी दाता खोजिरहेको बताउँछन् । “वडाले मात्रै गरेको सहयोगले उपचार खर्च पुग्दैन, आवश्यक सिफारिस गरेर सहयोगीको खोजीमा लागेका छौँ”, उनी भन्छन् । सामान्य उपचारले नहुने र निरन्तर दुखाइ भइरहेकाले तत्काल उपचारमा जानैपर्नेमा उनी जोड दिन्छन् ।

विक दम्पतीले कसरी उपचार गर्ने चिन्ता लागेको बताउँछन् । मदजुरी बाहेक अन्य काम नभएकाले छोराको उपचारका लागि सहयोगको आग्रह गरिरहेको बाबु मनबहादुर बताउँछन् । रासस


Author

थप समाचार
x