मन्त्रीहरूलाई मुख्यमन्त्रीको प्रश्न : बजेट दिँदा किन कार्यान्वयन भएन ?
पोखरा : गण्डकी प्रदेशका गौरवका आयोजनाको भौतिक प्रगति न्यून छ । धेरै योजनाका भौतिक प्रगति ४० प्रतिशत भन्दा कम छ । प्रदेशले बजेट विनियोजन गर्दा पनि कार्यान्वयनमा नआएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफ्ना कर्मचारीप्रति आक्रोश पोखेका छन् ।
मंगलबार प्रदेशका मन्त्रालयको प्रथम चौमासिक प्रगति समिक्षा बैठकमा आक्रोशित देखिएका थिए । उनले भने, ‘बजेटको विनियोजन भएको तर, कार्यान्वयन नभएको किन ? यसको कारण कसैले बताउनुभएको छैन । कुनैमा काम गर्न बजेट छैन, कुनैमा बजेट हुँदा काम छैन भन्ने ?’
यसको दृष्टान्त दिँदै मुख्यमन्त्री गुरुङले गत वर्ष संघ सरकारबाट पाएको ३३ करोड रुपैयाँ विशेष अनुदानबाट १२ करोड फिर्ता भएको बताए । गण्डकीले जिल्ला अस्पतालहरूको सुदृढीकरणका लागि विशेष कार्यक्रम बनाएको हुँदा संघ सरकारले ३३ करोड रुपैयाँ पठाएको थियो । तर आएको रकमको काम नभएपछि बजेट फर्किएको थियो । ‘मन्त्रालयले सतप्रतिशत कार्यान्वयन गर्ने गरी काममा लाग्नुपर्यो । अनुदानको बजेट खर्च नभए फिर्ता जान्छ । फिर्ता नहुने गरी काम हुनुपर्यो,’ मन्त्रीहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले भने ।
यसवर्षको वर्षायाममा गण्डकीमा मानविय र भौतिक क्षति धेरै भएपछि नदी नियन्त्रणका योजना बनाउन लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । हिउँद हुँदै ती योजना बनाउन र कार्यान्वयनमा आउने गरी काम गर्न उनको निर्देशन छ । अहिले बाढी पहिरोले क्षति बनाएका संरचनाको तथ्यांक लिएर पुनर्निर्माणका कामका लागि संघसँग बजेट मागिने उनले बताए । ‘क्षति भएका संरचनाको रेकर्ड बनाएर संघमा पेस गर्नुपर्छ, छुट्टै बजेट माग्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने ।
गण्डकीमा धेरै कार्यविधि बनाउन ढिला भएको अनुभव मुख्यमन्त्री गुरुङले प्रकट गरे । एउटै मुख्य कार्यविधि बनाएर सरकार चलाउनुपर्नेमा धेरै कार्यविधि बनाउनतिर लागेको उनको अनुभव थियो । कार्यविधि बनाउनका लागि भनेर मन्त्रीहरूको जिल्ला भ्रमण रोकेपनि ढिला गरिएको उनले रोष प्रकट गरे । ‘पहिलो चौमासिकभित्रै कार्यविधि बनाइसक्ने है भनेर भनेँ, मन्त्रीहरू धेरै बाहिर जान थाले भनेर जिल्लामा जाने कुरामा रोक लगाइयो, मन्त्रालयमा बसेर कार्यविधि बनाउन ध्यान देओस् भनेर,’ गुरुङको भनाइ थियो ।
अहिले भौतिक पूर्वाधार मन्त्रालयले विद्युत, खानेपानी, सिँचाइ, ऊर्जाको नीति बनाउन ढिलाइ गरिरहेको उनले बताए । ‘प्रथम चौमासिकभित्रै सकिएन होला, तेस्रो चौमासिकभित्र बनाइसक्नुपर्यो,’ उनले भने । प्रदेश प्रहरी तालिम केन्द्र बनाउनु अवसर पनि भएको उनले बताए । अमेरिकी न्याय मन्त्रालयले गण्डकी प्रदेशको प्रहरी तालिम केन्द्र बनाइदिने चाहना राखेको मुख्यमन्त्रीले सुनाए ।
संघीयताको औचित्य पुष्टि गर्न गाउँगाउँमा कार्यालय खोलिनुपर्ने उनको तर्क थियो । मौलिक हकसँग, जनताको स्वास्थ्यसँग र विकास निर्माणसँग जोडिएको कार्यालयहरू खोले मात्र जनताले गाउँगाउँमा सिंहदरबार आएको अनुभव लिन सक्ने उनको भनाइ थियो । त्यस्ता काममा बजेट खर्च गर्न डराउन नहुने मुख्यमन्त्री गुरुङले बताए । ‘हामी संघीयता कार्यान्वयनको पहिलो चरणमा छौं भनेर भौतिक संरचना स्थापना गरिएन भने प्रदेश सरकारले डेलिभरी दिन सक्दैन र प्रदेश सरकारको औचित्य पुष्टि हुन सक्दैन,’ उनले भने ।
उद्योग कार्यालय चलाउन मुख्यमन्त्रीले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गराए । उद्योग कार्यालय नभएकैले थुप्रै उद्योग बिना दर्ता चलिरहेको उनको भनाइ थियो । अर्थ मन्त्रालयलाई आवश्यक सफ्टवेयर केन्द्रले ३ वर्षसम्म नपठाएर बेइमानी गरेको उनले बताए । अब प्रदेश अर्थ मन्त्रालयले आफ्नै सफ्टवेयर बनाउने उनको तर्क थियो । उनले भने, ‘अब आफ्नै सफ्टवेयर बनाउने, माथिको सँग मिलाउनु पर्ने रहेछ भने त्यही बेला मिलाउँला, बेइमानीको भर नपर्ने आफै काम गर्ने ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया