करोडौँको राजस्व छली विफल
गलकोट : धौलागिरिका विभिन्न उद्योग तथा व्यवसायीका राजस्व छलीका प्रयासलाई आन्तरिक राजस्व कार्यालयले विफल बनाइदिएको छ । साविक धौलागिरिको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजस्व सङ्कलनको जिम्मेवारी पाएको बागलुङस्थित आन्तरिक राजस्व कार्यालयले छानबिन, परीक्षण र अनुसन्धानका क्रममा यहाँका पेशा, व्यवसाय तथा उद्योगले विभिन्न बाहनामा करिब रू पाँच करोड राजस्व छली गरेको फेला पारेको हो । कर बुझाउने १७ हजार करदातामध्ये शङ्कास्पद देखिएका व्यवसाय, उद्योग तथा फर्मको अनुगमन गरिएको थियो ।
बस्तु खरीद बिक्रीको अनुपात नमिलेको, खरीद गरिएका सामग्री बिक्रीतर्फ नदेखिएकोजस्ता राजस्व छलीका शङ्कास्पद उद्योग, व्यवसाय तथा फर्मको अनुगमन गर्दा आर्थिक वर्ष २०७७÷७८ मा मात्रै रु पाँच करोड ७३ हजार ८९ हजार थप राजस्व सङ्कलन भएको छ । कार्यालयको नियमित काम अन्तर्गत आर्थिक वर्षको मध्यतिर ६३ करदाताको व्यवसायमाथि छानबिन, परीक्षण र अनुसन्धान, १०२ करदाताको दु्रत छानबिन र १८२ करदाताको अनुगमन गर्दा उक्त परिणामको रकम वृद्धि भएको कार्यालयका प्रमुख जनकराज शर्माले बताए ।
'एक आर्थिक वर्षमा झण्डै रू पाँच करोड राजस्व थप सङ्कलन हुनु र २१ करोडभन्दा बढी बक्यौता असुल हुनु कार्यालयको उपलब्धि हो', उनले भने,'राजस्व वृद्धिमा कार्यालयको ध्यान केन्द्रित छ, आगामी दिन अनुगमन, परीक्षण र छानबिनलाई तीव्रता दिएर छली हुने राजस्व सङ्कलन गरिने छ । अनुगमनका क्रममा व्यवसायी, उद्योगी तथा फर्मलाई राजस्व नर्तिदा हुनसक्ने जरिवानाबारे पनि जानकारी नभएको, राम्रो हिसाब राख्न नजानेको र केही करदाताले नियतवस राजस्व छली गरेको पनि पाइएको छ ।'
कार्यालयले गत आर्थिक वर्षमा ६३ करदाताको फर्म छानबिन, परीक्षण र अनुसन्धान गरी आयकर तर्फ रु दुई करोड ७६ लाख ५४ हजार र मूल्य अभिवृद्धि करतर्फ रु दुई करोड ५८ लाख ५१ हजार गरी रु पाँच करोड ३५ लाख पाँच हजार थप कर उठाएको थियो ।
यस्तै, १०२ करदाताको दु्रत छानबिनबाट रु ३५ लाख ७९ हजार राजस्व असूल र १८२ करदाताको अनुगमनबाट रु तीन लाख पाँच हजार जरिवाना सङ्कलन गरिएको थियो । सफ्टवेयरमा राखिएको विवरणअनुसार राजस्व छलीको क्षेत्रसमेत पहिचान हुने भएकाले उद्योगी तथा व्यवसायीले समयमै राजस्वको यथार्थ विवरण बुझाउदा राम्रो हुने जानकारी दिँदै कार्यालयल प्रमुख शर्माले बताए । उपभोक्ताले तिर्ने कर व्यवसायीले आफ्नो खल्तीबाट तिनुपर्नेजस्तो गर्दा र करको विषयमा नबुझ्दा यस्तो समस्या भएको हो ।
कार्यालयमा दरबन्दी अनुसारका कर अधिकृत भएमा अझै राजस्व चुहावट हुने क्षेत्रमा अनुगमन गर्न सहज हुने कार्यालय प्रमुख शर्माले बताए । अहिले चार कर अधिकृतको दरबन्दी रहेको कार्यालयमा दुई कर अधिकृत मात्र छन् । बागलुङ जिल्लाको एक उद्योगले वर्षौदेखिको रु तीन करोड राजस्व एकमुष्ठ तिरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया