गण्डकी

मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन

इकागज |
साउन १०, २०७८ आइतबार २०:५५ बजे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारदर्शिता, सुशासन र उत्तरदायित्व बोधकासाथ मितव्ययी भएर कार्यसम्पादन गर्न मन्त्री, प्रमुख सचिव र सचिवलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उनले बेरूजु र उजुरी फछ्र्योटमा सक्रिय रहन निर्देश दिँदै प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र मातहतका निकायका वार्षिक कार्यक्रमलाई निर्धारित अवधिभित्र पूरा गर्नुपर्नेमा जोड दिए ।


मन्त्रालयको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै आफू मातहतका निकायको प्रभावकारिता बढाउन चालू खर्च घटाउन र पूँजीगत खर्च बढाउन मुख्यमन्त्रीले आग्रह गरे । जनतालाई घरदैलोमा नै सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले दोहोर्‍याए । सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउन आफू क्रियाशील रहेको तथा त्यसनिम्ति  सरकारले आवश्यक बजेट विनियोजन गरेको  बताउनुभयो । सेवा प्रवाह र कार्यसम्पादनमा निर्धारित विधिको पूर्णरुपमा पालना गर्न सम्बद्ध सबैलाई  उनले निर्देशन दिए ।


Author

थप समाचार
x