गण्डकी

गण्डकीमा कोभिड संक्रमणबाट १० को मृत्यु, अस्पतालहरूमा बिरामीको चाप

इकागज |
साउन ३२, २०७८ सोमबार १९:३ बजे

पाेखरा -सोमबार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु  भएको छ ।  योसँगै गण्डकीमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेमा अधिकांश कास्की जिल्लाका रहेको प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ ।  निर्देशनालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन समितिका संयोजक नवराज शर्माकाअनुसार कोभिडबाट मृत्यु हुनेमा कास्कीका ६ जना, स्याङ्जाका २, तनहुँ र नवलपुरका १/१ जना छन् । मृत्यु हुनेमा ४० देखि ८१ वर्ष उमेरका रहेको उनले बताए ।


पछिल्लो एक सातादेखि गण्डकीमा कोभिड संक्रमणसँगै मृत्युदर पनि बढेको निर्देशनालयले जनाएको छ । आइतबार मात्रै गण्डकीका १२ जना संक्रमितको मृत्यु भएको थियो । आइतबार पछिल्लो डेढ महीनायताकै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो ।

कोभिडको पछिल्लो लहरमा कास्की बढी प्रभावित जिल्लाका रूपमा देखिएको छ  । निर्देशनालयको तथ्यांकअनुसार कास्कीका मात्रै २ हजार बढी सक्रिय संक्रमित छन् । गण्डकीमा असार मसान्तदेखि सोमबारसम्म दुई सयभन्दा बढी संक्रमितले कोरोनाबाट ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

तीमध्ये पछिल्लो साता मात्रै गण्डकीमा ६१ जना संक्रमितले ज्यान गुमाएका छन् ।  पछिल्लो २४ घण्टामा गण्डकीमा ६ सय ५६ जना संक्रमित थपिएका छन् । १ हजार ३ सय जनामा परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकीमा ६ हजार १६८ जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये करिब तीन हजार मात्रै होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा गण्डकीमा ६ सय १६ जना संक्रमणमुक्त भएको तथ्यांक छ । गण्डकी प्रदेशमा संक्रमणको दर बढेपछि जिल्लाका अस्पतालहरूमा संक्रमितको चाप बढेको छ । 


Author

थप समाचार
x