टेलिकमलाई प्रदेश मन्त्री थापाको निर्देशन : उपभोक्तालाई छिटोछरितो सेवा प्रदान गरौं
पोखरा - गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले उपभोक्तालाई छिटो छरितो सेवा प्रदान गर्न टेलिकमलाई निर्देशन दिएका छन् । नेपाल टेलिकम गण्डकी प्रादेशिक कार्यालय पोखराको अवलोकन गर्दै मन्त्री थापाले समयको परिवर्तनसँगै सेवामा समेत परिवर्तन हुनुपर्ने बताए ।
उनले पहिले टेलिफोनको महशुल तिर्न आउँदा दिनभरीको समय लिएर आउनुपर्ने बाध्यता भए पनि अहिले त्यस्तो स्थिति नभएको उल्लेख गरे । ‘पहिले म राष्ट्रबैंकको कर्मचारी हुँदा टेलिफोनको महशुल तिर्न दिनभरी लाइन लगाउनुपर्थ्यो । अहिले त्यस्तो अवस्था छैन । प्रविधिको विकास सँगै हामी पनि परिवर्तशील भएका छौं । घरमै बसेर अनलाइनका माध्यम महशुल तिर्न सक्ने व्यवस्था भएको छ ।’, उनले भने ।
मन्त्री थापाले आफ्नो मन्त्रालयले संचार क्षेत्रलाई समेत हेर्ने भएकाले धेरै योजनाहरू तय भएको र त्यसको कार्यान्वयनका लागि सबैको सल्लाह, सुझावको अपेक्षा रहेको बताए । उनले भने, ‘मन्त्रालयले सूचना संचारसम्बन्धी केही योजना अगाडि सारेको छ । बजेटसमेत विनियोजन भएको अवस्था छ । त्यसलाई पुरा गर्न प्राविधिक साथीहरुसँग पनि हामीले अवश्य छलफल गर्नेछौं ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया