गण्डकी

कर्मचारीले उत्प्रेरणाका साथ काम गर्नुपर्छः प्रदेश प्रमुख गुरुङ

इकागज |
भदौ २२, २०७८ मंगलबार १८:४५ बजे

कास्की - गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध हुनुपर्ने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा कर्मचारी पेसागत दक्षतालाई अक्षुण राख्दै देश र जनताप्रति थप जिम्मेवार बन्नुपर्ने उल्लेख छ । प्रदेश प्रमुख गुरुङले राज्यका नीति, योजना र कानुनको तर्जुमा तथा त्यसको कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको बताए ।   

“जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता छ”, उनले सन्देशमा भनेका छन्, “निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्छौं ।” 


प्रदेश प्रमुख गुरुङले राष्ट्रसेवक कर्मचारीमा आफू साधनस्रोतको परिचालन एवं शक्तिको प्रयोग गर्ने शासक नभै आम सर्वसाधारणको सेवक हुँ भन्ने भावना जागृत हुनु अपरिहार्य छ भन्दै सन्देशमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी वर्गलाई आजको दिनले मुलुकको विकास र सुशासनका लागि पारदर्शी तथा जवाफदेही भई जनताको सेवा गर्ने अवसर मिल्ने उल्लेख गरेका छन् । रासस


Author

थप समाचार
x