चिसोमा कठ्यांग्रिँदै पालमा सशस्त्रको बास
डीएसपीको गुनासो- हामी सुरक्षा दिन्छौं तर चिसोमा बस्नु पर्दा कसैले चासो दिएनन्
पोखरा : नागरिकको सुरक्षाको जिम्मा सुरक्षा निकायको हो । चाहे जनपद होस्, चाहे सेना वा सशस्त्र । सुरक्षा निकायले समेत नागरिकबाट मित्रवत् व्यवहारको अपेक्षा गर्छन् । नागरिक, नागरिक समाज, स्थानीय सरकारले आफ्नो सुरक्षा गर्ने यी निकायको हकहित चाहनुपर्छ । तर बागलुङको प्रहरी बल गुल्म बागलुङका सशस्त्रका सुरक्षाकर्मी नागरिक र स्थानीय सरकारको उपेक्षाका कारण चिसो मौसममा पालको बास बस्न बाध्य छन् ।
भूसंरक्षण कार्यालय खाली भएपछि सरेका १ सय १२ सुरक्षाकर्मीमध्ये २५ जना अहिले पालको ओत लगाएर बसेका छन् । सशस्त्र बल बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश गुरुङका अनुसार उनीहरु ४ महिनायता पालमुनि बास बसेका छन् । ‘हामी पालमुनिनै बसेका छौं, चिसो बढेसँगै कठिनाइ आएको छ,’ उनले भने, ‘भवन निर्माणका लागि जग्गा प्राप्ति र यहाँको व्यवस्थापनमा स्थानीयको चासो पुगेन ।’
अहिले अरु सशस्त्रका जवान बसेको भूसंरक्षणको कार्यालयसमेत निकै साँघुरो भएकाले बस्न कठिन भएको गुरुङले बताए । ‘हामी जनताको सुरक्षाका लागि खटिएका हौं, तर चिसोमा बस्नु पर्दा कोहीले पनि चासो दिएनन्,’ गुरुङले भने ।
पहिला त्यहाँका जवान बरेङ र निसी गाउँपालिकामा गएकाले उनीहरुलाई कठिन थिएन । वर्षाका बेला बाढी पहिरोको क्षति व्यवस्थापनमा खटिएका जवान फर्किएपछि उनीहरुलाई बस्न कठिन भएको हो । ‘गुल्मबाट फिल्डमा खटिएका थिए, थप फोर्सपनि खटाएको हुनाले अहिले सबै फर्किँदा बस्न गाह्रो भएको हो,’ गुरुङले सुनाए ।
भदौबाट खुला आकासमुनि पालको ओतलागेर बसेका उनीहरु कहिले नयाँ भवन बन्ला र सरौंला भनेर कुरेर बसेका छन् । ‘जवानहरु भवन बन्ला र सरौंला भनेर बसेका छन्, भवन छिटो बन्नेमा आशावादी छौं,’ डीएसपी गुरुङले भने । तर भवन निर्माणका लागि जग्गा प्राप्तिमा समस्या आएको छ । बागलुङ नगरपालिका ४ उपल्लो चौरमा भवन निर्माणका लागि जग्गा प्राप्त हुन सकेको छैन ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जग्गा प्राप्ति र भवन निर्माणका लागि पालिकालाई निर्देशन दिएका छन् । मुख्यमन्त्री गुरुङले यही वर्षमा भवन बनाउने गरी काम थाल्न निर्देशन दिएको गुरुङ बताउँछन् । ‘मुख्यमन्त्री आएर जग्गा अवलोकन गर्नुभयो, जग्गा प्राप्ति र भवन निर्माणका लागि काम थाल्न निर्देशन दिनुभएको छ,’ गुरुङले भने, ‘१ वर्षभित्रै भवन निर्माणका लागि निर्देशन दिनुभएको छ, अब काम सुरु होला ।’ १ वर्षसम्म भवन नबन्ने भएपछि ती जवानले यसवर्ष पालमुनिनै चिसो काट्नुपर्ने भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया