गण्डकी

दुई पालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

इकागज |
असोज १२, २०७८ मंगलबार १२:१४ बजे

लमजुङ- यहाँका दुई स्थानीय तहले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय परिवेशलाई समावेश गर्दै मस्र्याङ्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाले  १ देखि ५ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका हुन्  ।  

स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोतसाधन तथा स्थानीय परिवेश अनुकूल र विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिको चिनारीका विषयलाई जोड दिइएको नगरप्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए ।


उनले भने, 'पाठ्यक्रममा पालिकाभित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजङ्गल, जडीबुटी, कृषि, अन्य विविधता समेटिएको छ ।' स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित शिक्षा शाखाका प्रमुख र दुई स्थानीय शिक्षकसहित पाँच सदस्यीय  समिति गठन भएको थियो ।

 पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति सङ्गठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको नगरप्रमुख पाण्डेको भनाइ छ । सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनका विषयलाई मुख्य प्राथमिकता दिएको छ । 

स्थानीय स्रोतसाधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिका चिनारीका विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ । 

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र जिल्लाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा सहयोग पुग्ने बताइएको छ । 

मस्र्याङ्दी  गाउँपालिका शिक्षा शाखा प्रमुख देवराज पौडेलले भन्नुभयो, 'लागू गरिएको स्थानीय पाठ्यक्रममा गाउँपालिकाको रहनसहन, वेशभूषा, ऐतिहासिक, पर्यटकीयस्थल, संस्कृति, विशिष्ट व्यक्तित्वको चिनारी समावेश गरिएको छ । यहाँका विद्यार्थीलाई भूगोल, संस्कार, संस्कृति, रीतिरिवाजलगायत सम्बन्धी थाहा हुने भएकाले यस पाठ्यक्रम महत्वपूर्ण हुने उहाँको भनाइ छ ।'  पालिकाभित्र ५५ विद्यालय छन् । 

मध्यनेपालका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईका अनुसार आफ्ना पालिकाभित्र ५० विद्यालय रहेको र कक्षा १ देखि ५ सम्म तीन हजार ५०० जनाका हाराहारीमा विद्यार्थी छन् । संविधानले  आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ । 

यसैगरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान  छ । यहाँ आठ स्थानीय तह रहेकोमध्य दुई पालिकाले मात्र स्थानीय पाठ्यक्रम लागू गरेका छन् । रासस


Author

थप समाचार
x